हप्तामा तीन दिन रामेछाप–काठमाडौं हवाई उडान हुने

बुधबार, २२ असोज, २०८२
डिजिटल संस्करण

रामेछाप विमानस्थलबाट तीन निजी विमान कम्पनीहरूले रामेछाप–काठमाडौं हप्ताको तीन उडान भर्ने भएका छन् ।यसअघि रामेछापका बासिन्दाले रामेछाप–काठमाडौं उडानको माग गर्दै आए तापनि विमान कम्पनीहरूले बेवास्ता गर्दै आएका थिए ।

देशको विषम परिस्थितिमा वर्षातसँगै आएको बाढीले चाडपर्व मनाएर राजधानी फर्कने यात्रुहरूको सुविधालाई ध्यानमा राखी विमान कम्पनीहरूले सेवा दिनुपर्नेमा उक्त सेवा रामेछापका बासिन्दालाई नदिएको भन्दै मंगलबार शान्तिदीप युवा क्लबका युवाहरू र जेन–जी युवाहरूले जिल्ला प्रशासन कार्यालय र सम्बन्धित वायुसेवा कम्पनीहरूलाई तीन दिनभित्र उडान भर्न मागपत्र पेस गरेका थिए । 

सोही मागपत्रको आधारमा बुधबार (आज)बाट तिहारसम्म तीन निजी विमान कम्पनीहरूले हप्तामा तीन उडान भर्ने सहमति भएपछि हप्ताको तीन दिन रामेछाप–काठमाडौं उडान हुने भएको हो । शान्तिदीप युवा क्लब, जेन–जी समूह र सम्बन्धित तीन निजी वायुसेवाका प्रतिनिधिहरूसँग भएको छलफलबाट बिहीबार समिट एयर, शुक्रबार सीता एयर र शनिबार तारा एयरले उडान भर्ने सहमति हिजो साँझ भएको हो । 

छलफलको क्रममा तिहारपछि हप्ताको एक उडान नियमित गर्नेसमेत सहमति भएको र त्यसका लागि विमान कम्पनीहरूले सम्बन्धित नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरी उडान तालिका सार्वजनिक गर्ने लिखित सहमति भएको शान्तिदीप युवा क्लबका अध्यक्ष सुरेश उदासले जानकारी दिए । जसअन्तर्गत बुधार नै समिट एयरले नागरिक उड्डयन प्राधिकरणबाट उडान तालिका लिई सार्वजनिक गरिसकेको र अन्य दुई कम्पनीले पनि उडान अनुमति माग गर्ने जनाएका छन् । आज समिट एयरले रामेछापबाट यात्रु लिएर काठमाडौं उडान भर्ने तालिका रहेको छ । 

सुझावित समाचार