प्रेरक प्रसंग : सन्त र अलेक्जेन्डर

बुधबार, २२ असोज, २०८२
डिजिटल संस्करण

विश्वविजयी अलेक्जेन्डर भारत पुग्दा त्यहाँबाट एकजना ज्ञानी सन्तलाई आफ्नो राज्यमा लान चाहन्थे । उनले आफ्ना सैनिकलाई ज्ञानी सन्त खोजेर ल्याउन आदेश दिए । सन्त खोज्दै जाँदा सैनिकहरू सन्त दण्डामिसको कुटीमा पुगे । सिपाहीले उनलाई सम्राट्ले बोलाएको खबर सुनाए । तर, दण्डामिसले सैनिकसित जान अस्वीकार गरे । सैनिकले जतिसुकै प्रयास गर्दा पनि उनी जान तयार भएनन् । यो खबर सुनेपछि अलेक्जेन्डर स्वयं उनको कुटीमा पुगे । उनले दण्डामिसलाई भने– म यो आधा विश्वको सम्राट् हुँ । तैपनि, मैले बोलाउँदा तपाईं किन आउनुभएन ? म तपाईंलाई आफूसँगै लान चाहन्छु । 

दण्डामिसले भने– हेर्दा त तपाईं सामान्य दीनहीन भिखारीजस्तै देखिनुहुन्छ । कसरी आधा विश्वका सम्राट् हुनुभयो ? मलाई पत्यार भएन । दण्डामिसको भनाइले अलेक्जेन्डर रन्थनिए । तर, जसोतसो रिसलाई नियन्त्रणमा राखेर उनले भने– ठिकै छ, भिखारी नै सही ! तर, तपाईंले यस भनाइलाईं प्रमाणित गरेर देखाउनुपर्छ । अन्यथा म जे पनि गर्न सक्छु । 

दण्डामिसले हाँस्दै भने– सत्यलाई पनि प्रमाणित गरिरहनुपर्छ र ? मानिलिनुहोस्, तपार्ईं आफ्ना सेना र सहयोगीबाट छुट्टिएर मरुभूमिमा कतै हराउनुभयो । कैयौँ दिनदेखि बाटो पहिल्याउन नसकेर अल्झिनुभएको तपाईं खाना र पानीको अभावमा जीवन र मृत्युको दोसाँधमा पुग्नुभयो । अचानक त्यहाँ पुगेको भिखारीसित पानी रहेको थाहा पाएपछि तपाईंले पानी माग्नुभयो । उसले तपाईंलाई प्रश्न गर्यो– मैले पानीको बदलामा तिमी मलाई के दिन्छौ ? त्यतिखेर तपाईंको उत्तर के हुनेछ ? अलेक्जेन्डरले भने– त्यतिखेर आफ्नो प्राण बचाउन म उसलाई आधा राज्य दिनेछु । दण्डामिसले प्रश्न गरे– त्यति गर्दा पनि उसले पानी दिएन भने ? अलेक्जेन्डरले जवाफ दिए– यस्तो अवस्थामा म उसलाई पूरै राज्य दिन तयार हुनेछु । 

अलेक्जेन्डरको जवाफ सुनेपछि मन्द मुस्कुराउँदै सन्त दण्डामिसले भने– जाबो एक लोटा पानीमा साटिन सक्ने राज्यको के घमण्ड गर्नुहुन्छ ? आखिर तपाईं र भिखारीबिच के नै अन्तर भयो र ?
 

सुझावित समाचार