वीरगन्जको भानुचोक बसपार्कस्थित साह पराडाइज होटेलको कोठामा दुईजना पुरुष मृत फेला परेका छन् । गत आइतबारदेखि होटेलमा कोठा लिएर बसेका भारतीय नागरिक बाबुछोरा कोठाभित्रै मृत भेटिएको पर्सा प्रहरीले जनाएको छ ।
पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार केहीबेर अगाडि उनीहरू मृत फेला परेको खबर आएको हो ।
प्रहरी स्रोतका अनुसार उनीहरू काठमाडौंबाट उपचार गराएर वीरगन्ज आएर होटेलमा बसेका थिए । मृतकमध्ये २४ वर्षीय छोरा र ५५ वर्षीय बाबु रहेका छन् । उनीहरू बस्दै आएको कोठाको भित्रबाट लक रहेको प्रहरी उपरीक्षक पाठकले बताए ।
उनका अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाउन नेपालस्थित भारतीय राजदूतावासमा खबर गरिएको छ ।