एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले प्रहरीले जाहेरी दर्ता नगरे न्यायिक निरुपणमा जाने प्रस्ट्याएका छन्।
जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी गर्नेहरूविरुद्धको प्रहरीलाई जाहेरी बुझाएर फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै बडालले यस्तो बताएका हुन्।
प्रहरीले सरकारी वकिलसँग सल्लाह गरेर २४ घण्टामा जाहेरीबारे निर्णय दिने बताएको जानकारी दिँदै उनले भने, ‘२४ घण्टापश्चात् हाम्रो जाहेरी दर्ता भएन भने यसको थप न्यायिक निरुपणको निम्ति हामी स्वाभाविक रूपमा अघि बढ्छौँ । हामी दण्डहीनतालाई टुलुटुलु हेरेर बस्दैनौँ।’
आफूहरूले कसका विरुद्ध जाहेरी दिएको तत्काल सार्वजनिक गर्न नचाहेको बताउँदै बडालले राष्ट्रिय सम्पदाहरू तोडफोड र आगजनी गर्नेहरूविरुद्ध प्रहरीमा गएको बताए।
तीन विषयमा रहेर जाहेरी दर्ता गरेको उल्लेख गर्दै उनले भने, ‘हामीलाई शंका छ, हाम्रा डाटाहरू मागिँदै छ। कसका निम्ति मागिँदै छ ? आज राष्ट्रिय सुरक्षामा खतरा देखिँदै छ। कसको निम्ति जासुसी गरिरहनुभएको छ ?’