नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले एएफसी एसियन कप छनोटअन्तर्गत घरेलु टोली भियतनामसँग खेल्दा ४० जनाको जम्बो टोली त्यसतर्फ पुग्ने भएको छ । घरेलु मैदानमा हुनेपर्ने खेलसमेत नेपालले भियतनाममा खेल्दै छ । नेपालले आगामी ९ अक्टोबरमा भियतनामविरुद्ध ‘अवे म्याच’ खेल्नेछ । त्यसपछि १४ अक्टोबरमा नेपालले ‘होम म्याच’का रूपमा भियतनामसँग प्रतिस्पर्धा गर्नेछ ।
यो खेल दशरथ र रंगशालामा हुनुपर्ने थियो । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)ले आवश्यक मापदण्ड नपुर्याएपछि दशरथ रंगशालालाई एएफसीले ‘अयोग्य’ घोषणा गर्यो । तर, एएफसीले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय खेल खेलाउन अयोग्य भने पनि यसै मैदानमा २३ भदौमा नेपाल र बंगलादेशबिच फिफाको आधिकारिक खेल भएको थियो । जसमा नेपाल र बंगलादेशले बराबरी खेलेका थिए ।
एन्फाले ‘न्युट्रल भेन्यु’मा हुनुपर्ने खल पनि भियतनाममा नै पुर्याइएको हो । यही बहानामा एन्फाले २३ जना खेलाडी तथा नौजना पदाधिकारीबाहेक अतिरिक्त आठजना पदाधिकारीलाई विदेश भ्रमणमा लैजादै छ । विभिन्न स्वार्थमा रुमल्लिएर विवादमा आइरहने एन्फा नेतृत्वले पदाधिकारी र भोटरलाई खुसी बनाउन विदेश भ्रमणमा पठाउने गरेको आरोप कार्यसमिति बैठक र साधारणसभामा लाग्दै आएको छ ।
२३ खेलाडीबाहेक ९ पदाधिकारीमा (मुख्य प्रशिक्षक, व्यवस्थापक, सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक, डाक्टर, फिजियो, एनालिस्ट, किट म्यानेजर, र एक मिडिया अफिसर छन् । त्यसबाहेक एन्फाले आठ अतिरिक्ति पदाधिकारीकारीमा एन्फा उपाध्यक्ष दीपक खतिवडा, कार्यसमिति सदस्य महेन्द्र क्षेत्रीसँगै क्लब तथा जिल्ला पदाधिकारीहरू राजुमान तुलाधार, हितमान गुरुङ, नितेश रावल, कर्णबहादुर बस्नेत, रमाकान्त चौधरी र रमेशकुमार श्रेष्ठ रहेका छन् । एन्फाले उनीहरूलाई सोमबार नै बिदाइ गरेको छ । अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई विदाई कार्यक्रममामा सहभागी भएनन् । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरेका थिए । यसअघि राखेप र खेलकुद मन्त्रालयले बारम्बार एन्फालाई जम्बो टोलीको भ्रमणबारे प्रश्न गरेपछि यसपटक सो देखिएन ।
राम्रो नतिजा निकाल्ने योजना
मुख्य प्रशिक्षक म्याट रसले एसियन कप छनोटमा नेपालले भियतानमविरुद्ध दुवै खेलमा राम्रो नतिजा निकाल्ने र उनीहरूविरुद्ध प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् । ‘हामीले राम्रो तयारी गरेका छौँ । उनीहरूविरुद्ध खेल्न हामी तयार छौँ,’ रसले भने । यसअघि उनले आइतबार २३ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका थिए । जसमा ६ जना खेलाडीले पुनरागमन गरेका छन् । एन्फाले आयोजना गरेको विदाईमा कप्तान किरण चेम्जोङ उपस्थित भएनन् । उनी अहिले बंगलादेशमा लिगमा आवद्ध छन् । एन्फाका अनुसार कप्तान किरण बंगलादेशबाटै भियतनाममा नेपाली टोलीसँग आवद्ध हुने छन् ।
मुख्य प्रशिक्षक रसले छनोट गरेका खेलाडीमध्ये बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नपरेका आयुष घलान, सुमित श्रेष्ठ र कृतिश रत्न छुन्जुले सिनियर टोलीमा स्थान बनाएका हुन् । गोलरक्षक विशाल सुनार, डिफन्डरद्वय विमल पाण्डे र सनिश श्रेष्ठले पनि पुनरागमन गरेका छन् । बंगलादेशविरुद्ध खेलेका गोलकिपर टिकेन्द्र थापा, डिफेन्डर अमित लामा र रन्दीप पौडेल तथा स्ट्राइकरहरू आदित्य शाक्य, समीर तामाङ र सृजनराज भने यसपटक बाहिरिएका छन् ।
समूहमा अंकविहीन नेपाल
छनोट चरणमा नेपालले अहिलेसम्म अंक जोडेको छैन । नेपालले दुई खेल खेल्दा पनि हारको सामना गरेको छ । पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल इतिहासमै पहिलोपटक लाओसबाट २–१ ले स्तब्ध भयो । यो नतिजाअघि नेपालले लाओसविरुद्ध ६ खेलमा अपराजित रेकर्ड राखेको थियो ।