राजमार्ग बगेपछि दसैँ मनाएर फर्कनेलाई सकस (तस्बिरहरू)

सोमबार, २० असोज, २०८२
डिजिटल संस्करण

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ६, चौकीडाँडामा सोमबार दिउँसो टन्टलापुर घामको पर्वाह नगरी दुई महिनाकी सुत्केरी दुर्गामाया तामाङ पाँच घण्टा हिँडेर पसिना पुछ्दै आइपुगेकी थिइन् । काठमाडौँ बस्दै आएकी उदयपुर गाईघाटकी दुर्गामाया १४ असोजमा माइतीघर काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– १२, घ्याङडाँडा गएकी थिइन् । माइतीसम्मै बसमा पुगेकी दुर्गामाया अविरल वर्षापछिको बाढीले बिपी राजमार्ग बगाएपछि माइतीमै थुनिएकी थिइन् । अफिस खुल्ने भएपछि बहिनीलाई बच्चा बोकाएर उकाली–ओराली गर्दै चौकीडाँडा आइपुगेको उनले बताइन् । रोशी गाउँपालिका– १२ बाट ११, १०, ९, ८ र ६ हुँदै चौकीडाँडा आइपुुगेकी दुर्गामायाले अति नै सास्ती भोगेर आइपुगेको बताइन् । 

रोशी गाउँपालिका– ७ कटुन्जेबाट काठमाडौँ हिँडेकी सीमा तामाङ बडो सास्तीबिच चौकीडाँडाको पहिरोमा उर्लिरहेको रोशीको तीर पार गरिन् । चार हातपाउ टेकेर पहिरो पार गरेपछि लामो सास फेर्दै भनिन्, ‘अब त बाँच्ने भो ।’

यस्तै, तेमाल भोज्रयाङकी माया तामाङ चार दिनअघि रोशी गाउँपालिका– ६, सिपालीमा रहेको माइती घर गएकी थिइन् । झरी परेर बाटो बिग्रेपछि अप्ठ्यारो बाटो छिचोल्दै बल्ल चौकीडाँडा आइपुगेकी थिइन् । ‘चार दिनअघि माइत सिपाली गएकी थिएँ । आधा घण्टामा पुग्ने ठाउँमा बाढीले बाटो बिगारेपछि हिँडेर आउन तीन घण्टा लाग्यो,’ उनले भनिन्, ‘माइत पनि बेकारमा आएछुँ जस्तै भयो ।’

बिपी राजमार्ग हुँदै माइती गएका र विभिन्न ठाउँमा दसैँ मान्न गएकाहरू दुःख झेल्दै गन्तव्य फर्कन थालेका छन् । सयाैँ यात्रु यसरी नै सास्ती खेप्दै गन्तव्यतर्फ फर्कनेको ताँती रहेको छ । 

बिपी राजमार्गको रोशीखोला क्षेत्रमा गत वर्ष असोजमा आएको बाढीले बगाएपछि बनाएको अस्थायी डाइभर्सन यस वर्षको १८ देखि १९ असोजको बाढीले पुनः बगाइदिएपछि अहिले पूर्ण रूपमा अवरुद्ध छ । राजमार्गको बोक्सेकुना, घुमाउने, चौकीडाँडा, डालाबेँसी, पिप्ले, माम्ती, चरङ्गेफेदीमा अस्थायी रूपमा बनाइएको डाइर्भसन शनिबारदेखिको वर्षाले पुनः क्षति गराएसँगै राजमार्ग पूर्ण रूपले ठप्प भएको छ ।

गत वर्ष यी सबै स्थानमा बाढीले पक्की राजमार्ग बगाएको थियो । क्षति भएको राजमार्ग सडक डिभिजनले करिब १० करोड लगानीमा डाइभर्सन बनाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको थियो । 

बिपी राजमार्ग बन्द हुँदा नेपालको पूर्वी भाग जोड्ने छोटो दूरीको यात्रुहरूलाई सास्ती हुनुको साथै काभ्रे जिल्लाको रोशी, महाभारत, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाको केही भागलाई यातायातमा असर परेको छ ।

सुझावित समाचार