२३ र २४ भदौमा जेन–जी आन्दोलनका क्रममा ध्वस्त भएको सिंहदरबार, संसद भवनसहित राज्यका सबै संरचनाको पुनर्निर्माण सम्बन्धित कसुरदारबाटै गराउन धर्मराज तिमिल्सिनाले गृहमन्त्रीसँग माग गरेका छन् । सोमबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर तिमिल्सिनाले ४ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
जेन–जी आन्दोलनका नाममा भएको घुसपैठबाट मानव हत्या, आगजानी, तोडफोडलगायतका अमानवीय विध्वंसात्मक क्रियाकलाप भएकोतर्फ ध्यानाकर्षण गराउँदै तिमिल्सिनाले त्यस्तो माग राखेका हुन् ।
गृह मन्त्रालयले आन्दोलनका नाममा विध्वंस मचाउनेलाई तत्काल पक्राउ गरेर कारवाही नगर्ने आशयको विज्ञप्ति जारी गरेको भन्दै आलोचना भइरहेका बेला तिमिल्सिनाले सबै नागरिकको तर्फबाट भन्दै मागपत्र पेश गरेको जानकारी दिएका छन् ।
‘आन्दोलनका नाममा निजी तथा सार्बजनिक सम्पत्ति आगजनी, तोडफोड र लुटपाट गर्ने नेपाल प्रहरीलगायत आम नागरिकको निर्मम हत्या गर्नेहरूलाई त्यसै छोड्दा अपराधकर्मीको मनोबल बढ्ने र भविष्यमा पनि आन्दोलनका नाममा राज्यले थप क्षति व्यबर्होनुपर्ने विषयलाई मध्यनजर गर्दै आन्दोलनको नाममा हुने अपराधिक मानसिकतालाई निस्तेज पार्न, अपराध न्यूनिकरण गर्न, कानुनीकारवाहीको प्रक्रिया अगाडि बढाई विधिको शासन स्थापित गर्न र जेनजी आन्दोलनमा तोडफोड, लुटपाट, आगजानीमा संलग्नलाई पक्राउ नगर्न गृहमन्त्रीले प्रहरीमाथि दबाब दिएको भन्ने खबरप्रति आपत्ति जनाउँदै, दोषीलाई कारवाही गर्न र उक्त आगजानी, तोडफोड, नास, क्षति भएका राज्यका संरचनाहरु कसुरदारबाट नै पहिलाको जस्तै अवस्थामा पुननिर्माण गराउन हुन विनम्र निवेदन पेश गर्दछु,’ तिमिल्सिनाको मागपत्रमा भनिएको छ ।
उनले घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल छानबिनगरी कानुनी कारवाही गर्न, तोडफोड, आगजजी तथा लुटपाटबाट प्रभावित पीडितहरुलाई न्याय दिलाउन, सार्बजनिक, निजी सम्पत्ति र नागरिकको शान्ति सुरक्षाको संरक्षणका लागि प्रभावकारी निवारक उपायहरु तत्काल लागू गर्न तथा नेपाल प्रहरीको मनोवल उच्च बनाउँदै शक्ति प्रदान गर्न र विधिको शासन स्थापित गर्न गृह मन्त्रालयलाई अनुरोध गरेका छन् ।