लगातार दुई दिन परेको वर्षाले संखुवासभाको विभिन्न ठाउँमा क्षति र संरचनाहरू जोखिममा परेका छन्। पहिरोका कारण खाँदबारी–किमाथांका सडकखण्ड पूर्ण रूपमा ठप्प छ। मकालु–३, एकुवा र भोटखोला–४, बरुणमा आएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
यसैगरी, सदरमुकाम खाँदबारीस्थित नेपाली सेनाको इन्द्रदल गुल्म र जिल्ला कारागारसमेत उच्च जोखिममा परेको छ । चैनपुर नगरपालिकामा रहेको नगर अस्पताल र धेरै बस्तीहरू उच्च जोखिममा परेका छन् ।
खाँदबारीस्थित नेपाली सेनाको इन्द्रदल गुल्मको केही भाग पनि पहिरोको जोखिममा परेको छ । डाँडामा रहेको गुल्मको जमिन चिरा–चिरा पर्न थालेको गुल्मको भनाइ छ । यसैगरी, खाँदबारीमा रहेको जिल्ला कारागारको करिब ३० मिटर लामो बाहिरी पर्खाल भत्किएको जेलर राजन घिमिरेले बताए। कारागारको तल्लो भागमा ठुलो पहिरो खसेपछि भवनसमेत जोखिममा परेको उनले बताए ।
चैनपुर नगरपालिका–६ मा रहेको १५ बेडको नगर अस्पतालको पछाडि भागमा पनि पहिरो खसेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।
चैनपुर सिद्धपोखरीमा रहेको तेन्जिङ शेर्पाको घर पनि पहिरोको उच्च जोखिममा परेको लामिछानेको भनाइ छ । संखुवासभाको सभाखोला–लेगुवा सडक खण्डमा आइतबार झरेको पहिरो इन्द्रदल गुल्मले हटाएर सडक संचालन गरेको छ । जिल्लाभरको विभिन्न ठाउँहरूमा पहिरो गए पनि ठुलो क्षति नभएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय संखुवासभाले विज्ञप्ति जारी गर्दै आमनागरिकलाई सतर्क रहन र जोखिमपूर्ण क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।

