जसले दिनरात मौसम र बाढीबारे सूचना दिइरहे

दसैँका वेला एक्कासि मनसुन सक्रिय भएपछि विशेष बुलेटिन जारी गर्न मौसमविद्हरूलाई भ्याइनभ्याई

सोमबार, २० असोज, २०८२
डिजिटल संस्करण
जसले दिनरात मौसम र बाढीबारे सूचना दिइरहे

मौसमबारे जानकारी दिँदै बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुली

देश दसैँमा रमाइरहेका वेला मौसम पूर्वानुमान महाशाखाका मौसमविद्लाई भने बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली अवलोकन गरेर विशेष बुलेटिन जारी गर्नु थियो । १४ असोज राति विशेष बुलेटिन जारी भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपरिसरमा रहेको महाशाखाका मौसमविद्हरूलाई चटारो पर्यो ।

‘सामान्यतया दसैँताका मनसुन बाहिरिसकेको हुन्छ । तर, यसपटक मनसुन बाहिरिएन । बरु बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीले ठुलो पानी पर्ने भएपछि रेडअलर्टसहितको चेतावनी नक्सा बनाउने, बुलेटिन जारी गर्नुपर्ने अवस्था आइलाग्यो,’ मौसमविद् सञ्जीव अधिकारीले भने, ‘२४ घण्टा ड्युटी हाम्रो नेचर नै हो । तर, यसपटक दसैँका वेला मौसमी प्रणाली आएपछि झन् चटारो पर्यो ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर र मीनकुमार अर्याल तथा मौसमविद्हरू बिनु महर्जन, सञ्जीव अधिकारी, रोजन लामिछाने, सरोज पुडासैनी र डेबिट ढकाल यो विसम मौसमी अवस्थाका वेला ड्युटीमा थिए । जसको नेतृत्वको महाशाखाका प्रमुखसमेत रहेका जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक सुमनकुमार रेग्मीले गरिरहेका थिए ।

‘नियमित मौसम पूर्वानुमान र विमान उडानको मौसमी पूर्वानुमान नियमित काम नै हो । तर, मध्य र पूर्वी नेपालमा धेरै पानी पर्ने देखिएपछि चेतावनी नक्सा, बिहान–बेलुकाको मौसमी बुलेटिन र सामाजिक सञ्जालबाट छिनछिनमा अपडेट पनि थपियो,’ अधिकारीले भने, ‘तीन–चार दिन कार्यालयलाई धेरै समय दिऔँ, महाशाखाको पूर्वानुमानमा रहेर सचेतना पनि अपनाइएको देखेर खुसी लाग्छ ।’ दसैँको दिन १६ असोजमा बिहान ६ बजेदेखि १० बजेसम्म मौसमविद् सञ्जीव अधिकारी र डेभिड ढकाल ड्युटीमा थिए भने त्यसपछि क्रमशः वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर र मीनकुमार अर्यालले कमान्ड सम्हालेका थिए । 

शाखाका प्रमुख तीन दिन कार्यालयमै
मौसम विज्ञान विभागले बाढीको पूर्वानुमान पनि गर्छ । कुन क्षेत्रमा कति वर्षा हुँदा बाढी आउँछ, नदीमा पानीको सतह कति छ भनेर विश्लेषण गरेर सम्बन्धित क्षेत्रका नागरिकमा सचेतनामूलक एसएमएस पठाइन्छ भने सम्बन्धित निकायलाई जानकारी पनि दिइन्छ । यही आधारमा सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकलाई उद्धार गर्ने गरिएको छ । यसपालि दसैँका वेला नै बाढीको जोखिम बढेपछि विभागको बबरमहलस्थित कार्यालयमा हाइड्रोलोजिस्टहरूलाई भ्याइनभ्याइ थियो । बाढी पूर्वानुमान शाखाका प्रमुखसमेत रहेका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली त तीन दिन कार्यालयमै रहे । ‘१७ बिहानदेखि कार्यालयमै थिएँ, जोखिम टरेपछि आइतबार दिउँसो घर फर्किएँ । दसैँ मनाउन घर जानुभएका साथीहरू पनि फर्किएपछि सहज भएको छ,’ उनले भने ।

यो अवधिमा सहायक हाइड्रोलोजिस्ट साजन घिमिरे, हाइड्रोलोजिस्ट इन्जिनियर अमर चलाउनेले साथ दिए भने हाइड्रोलोजिस्ट इन्जिनियर सागर मिश्र र सौहार्द जोशीले उपत्यकाबाहिर घरबाटै अनलाइनमार्फत सहयोग गरे । उनीहरू आइतबार कार्यालय पुगेका छन् ।

बाढी पूर्वानुमान शाखाले हरेक दिन बिहान बाढीको चेतावनी नक्सासहित बुलेटिन, तथ्यांकको विश्लेषण गरेर बाढीको पूर्वानुमान, सामाजिक सञ्जालबाट सूचना प्रवाहसँगै समुदायस्तरमा एसएमएस पठाउन तयारी गर्नुपर्थ्याे । यो अवधिमा एनसेल र नेपाल टेलिकमबाट ६५ लाख १६ हजार एसएमएस समुदायमा पठाइएको उनले बताए । शाखाको हटलाइन नम्बर ११५५ मा आउने फोन, मिडियालाई जानकारी र सम्बन्धित निकायमा ब्रिफिङका काम पनि रहे ।

जनशक्ति अभावका कारण जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी शनिबार राति हटलाइनको फोन उठाउन आफैँ बसेका थिए । ‘यो अवधिमा मौसम पूर्वानुमान महाशाखा, बाढी पूर्वानुमान शाखाका साथीहरूसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भूमिका अत्यन्तै महत्वपूर्ण रह्यो,’ उनले भने ।

See More On

सुझावित समाचार