अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार भियतनामविरुद्धको दुई खेलका लागि राष्ट्रिय फुटबल पुरुष टोली घोषणा गरेको छ । टोलीमा ६ खेलाडीले पुनरागमन गरेका छन् । गोलरक्षक विशाल सुनार, डिफेन्डर विमल पाण्डे, सनिश श्रेष्ठ र सुमित श्रेष्ठ, मिडफिल्डरद्वय कृतिशरत्न छुन्जू र आयुष घलानले टोलीमा पुनः स्थान बनाएका हुन् । एन्फाले एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणमा भियतनामविरुद्धको खेलका लागि टोली घोषणा गरेको हो ।
दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशविरुद्ध दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा यी ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिएनन् । तर, यी सबै खेलाडी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत लाओसविरुद्धको खेलमा टोलीमा थिए । घाइते भएका सनिश बंगलादेशसँग खेलेका थिएनन् । सुमित, कृतिश र आयुष भने यू–२३ एसियन कप छनोट प्रतियोगिताका लागि ताजकिस्तानमा थिए । राष्ट्रिय यू–२३ टोलीका मिडफिल्डर सन्तोष खत्री र स्ट्राइकर नीराजन धामी भने सिनियर टोलीमा अटाएका छैनन् ।
अस्ट्रेलियाली मुख्य प्रशिक्षक म्याट रसले प्रारम्भिक छनोट टोलीबाट १० खेलाडीलाई बाहिर राखेका छन् । रोसले घोषणा गरेको टोलीमा अमित लामा, आदित्य शाक्य, रन्दीप पौडेल, समीर तामाङ, सृजनराज गौतम र टिकेन्द्र थापा बाहिरिएका छन् । रन्दीप र सृजनराजले प्रारम्भिक छनोट चरणमै स्थान बनाउन सकेका थिएनन् । टोलीमा नअटेका खेलाडीले गत २३ भदौमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा थिए । मुख्य प्रशिक्षक रोसले आधिकारिक २३ खेलाडी समावेश गरेका छन् । उनले २३ सेप्टेम्बरमा ३३ खेलाडीलाई पहिलो चरणको प्रशिक्षणमा बोलाएका थिए ।
प्रतियोगिताको समूह ‘एफ’मा रहेको नेपालले ९ र १४ अक्टोबरमा भियतनामसँग पहिलो र दोस्रो लेग खेल्ने तालिका छ । यसअघि छनोटमा नेपालले लाओसविरुद्ध २–१ को हार व्यहोरेको थियो ।
इतिहासमै नेपाल पहिलोपटक लाओससँग पराजित भएको थियो । यसअघिका प्रतिस्पर्धामा नेपाल लाओससँग पराजित भएको थिएन । मलेसियाले नेपाललाई २–० ले हराएको थियो । लगातार दोस्रो हारसँगै नेपाल हाल अंकतालिकाको पुछारमा छ । समूहको शीर्ष स्थानमा रहने टोलीले २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा स्थान बनाउनेछ ।
नेपालले भियतनामको मैदानमा ‘होम म्याच’ खेल्ने
नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँगको घरेलु खेल भियतनामकै मैदानमा खेल्नेछ । दुई राष्ट्रबिचको पहिलो लेग १४ अक्टोबरमा होची मिन्ह सिटीस्थित थोङ न्हात रंगशालामा हुनेछ । नेपालले भियतनामसँगको ‘होम म्याच’ भियतनामकै मैदानमा खेल्ने भएको हो । निर्धारित तालिकाअनुसार नेपालले घरेलु मैदानका रूपमा दशरथ रंगशालमा खेल्नुपर्ने थियो । एएफसीले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय खेल खेलाउन अयोग्य भनेपछि नयाँ न्युट्रल मैदान खोज्न एन्फालाई भनेको थियो ।
एन्फाले भियतनामसँग उसैको मैदान रोजेको हो । नेपालले ९ अक्टोबरमा भियतानामविरुद्ध बिन दुंग रंगशालामा ‘अवे’ खेल खेल्नेछ । यसअघि एसियन कप छनोटको दोस्रो चरणमा बहराइनविरुद्ध पनि नेपालले होम र अवे दुवै खेल बहराइनमै गएर खेलेको थियो । रंगशाला अयोग्य भइरहँदा नेपालले एसियन कप छनोट, विश्वकप छनोटका खेलहरू घरेलु मैदानमा खेल्न पाएको छैन । यद्यपि, गत भदौमा नेपाल र बंगलादेशबिचको फिफाको आधिकारिक खेल भने रंगशालामै भएको थियो ।