तेस्रो खेलमा मलेसियासँग नेपाल १३ रनले पराजित

सोमबार, २० असोज, २०८२
डिजिटल संस्करण

नेपाल दोस्रो महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा पनि घरेलु टोली मलेसियासँग पराजित भएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास मैदानमा आइतबार मलेसियाले नेपाललाई १३ रनले हराएको हो । पाँच खेलको शृंखलामा नेपाल २–१ ले पछाडि परेको छ । टस जितेर ब्याटिङ गरेको मलेसियाले नेपाललाई एक सय २१ रनको सामान्य लक्ष्य दिएको थियो । ब्याटिङ चल्न नसकेपछि नेपालले २० ओभरमा आठ विकेट गुमाएर एक सय सात रनको योगफल बनायो । पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियामाथि ६ विकेटको जित निकालेको थियो । नेपालले आगामी जनवरीमा घरेलु मैदानमै हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट खेल्दै छ । त्यसैको तयारीका लागि नेपाली महिला टोली मलेसिया पुगेको हो ।

नेपालकी रुबी पोद्दारले ३७ बलमा सर्वाधिक ३१ रनको योगदान दिइन् । कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् । सम्झना खड्काले १८ रन जोडिन् । मलेसियाका लागि अइस्या एलिसा फिर्दोउज र नुर डानिया स्युहदाले समान एक विकेट लिए । मलेसियाका लागि एना हमिजाह हासिमले ५८ बलमा ६१ रनको अर्धशतकीय इनिङ्स खेलेकी थिइन् । मास एलेसाले ३० रन बनाउँदा वान जुलियाले १६ रनको योगदान गरे । नेपालका लागि कविता कुँवर र कविता जोशीले समान दुई विकेट लिए । 

ब्याटिङ र बलिङमा कमजोर प्रदर्शन
नेपाले मलेसियाविरुद्ध तीन खेल खेलिसकेको छ । तर, नेपालले ब्याटिङ र बलिङमा एकनासको प्रदर्शन गर्न सकेको छैन । पहिलो खेलमा मलेसियासँग तीन रनले पराजित हुँदा नेपालको कमजोर ब्याटिङ प्रदर्शन भयो । यस खेलमा ब्याटिङ, बलिङ र फिल्डिङमा नेपाल चुकेको थियो । पहिलो खेलमा नेपाललाई अन्तिम ओभरमा सात रन चाहिएको थियो । तर, नेपाली खेलाडीले केवल तीन रन मात्र बनाए । मलेसियाले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय पाँच रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले २० ओभरमा सात विकेट गुमाएर एक सय एक रन बनाएको थियो । नेपालका लागि पूजा महतोले २९ बलमा सर्वाधिक ३० रन बनाउँदा सम्झना खड्काले १६ बलमा १८ रन जोडिन् । कविता जोशीको नाममा १३ रन रह्यो । मलेसियाका लागि नुर डानियाले सर्वाधिक तीन विकेट लिइन् ।

पहिलो खेलदमा मलेसियाकी कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २६ रन बनाइन् । उनले ४१ बलको सामना गर्दा एकै चौका लगाइन् । ओपनर ऐना हमिजा हसिमाले २६ रन र मास ऐसाले २५ रन बनाएका थिए । नेपालीले मलेसियालाई ११ अतिरिक्त रन दिएको थियो । नेपालकी सुमन विष्टले सर्वाधिक दुई विकेट लिइन् । उनले चार ओभरमा एक मेडनसहित २१ रन खर्चिन् । पूर्वकप्तान रुबिना क्षेत्रीले एक विकेट लिएकी थिइन् ।

सुझावित समाचार