३ प्रश्न जलवायु तथा विपतविज्ञ डा. धर्मराज उप्रेतीलाई

सोमबार, २० असोज, २०८२
डिजिटल संस्करण

यसपालि मनसुन बाहिरिने वेला देशको पूर्वी भागमा किन ठुलो पानी पर्यो ?
प्रमुख त बंगालको खाडीको समुद्री भागमा भएको तापक्रम वृद्धिले निर्माण गरेको न्यूनचापीय अवस्थाले यो अवस्था निम्त्यायो । बढी वर्षामा हावाले कति जलवाष्प बोकेको छ, हावाको दिशा कता बगेको छ भन्ने कुराले पनि भूमिका खेल्छ । उडिसाको तट र उत्तरी बंगालको खाडीबाट उठेको वायु कहिले म्यानमार जान्छ, कहिले सीधै बंगलादेश जान्छ भने यसपटक यो नेपालतर्फ आयो । तर, भारतको उत्तराखण्ड क्षेत्रमा ‘एन्टिसाइक्लोनिक कन्डिसन’ सिर्जना भएकाले पश्चिततर्फ जान सकेन र पूर्वतर्फ धकेलियो । यदि यो वायु १५–२० दिनअघि आएको भए पश्चिमी भेग पनि प्रभावित हुने थियो ।

यसपटक सरकारको ठुलो वर्षाका लागि पूर्वतयारीको अवस्था कस्तो पाउनुभयो ?
सरकारले विपत् व्यवस्थापनका लागि गरेको एकीकृत प्रयासले राम्रो प्रतिफल दिएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागले समन्वयका साथ सही सूचना प्रवाहमा प्रशंसनीय काम गरे । रिङटोन, टोलफ्री नम्बरको व्यवस्था गर्नेदेखि प्राधिरकणलाई राजमार्गसमेत बन्द गर्ने जुन अधिकार दिइयो, त्यो सम्भवतः पहिलोपटक भएको होला । यसले क्षति न्यूनीकरणमा उल्लेखनीय भूमिका खेल्यो ।

ठुलो वर्षाले सधैँ त्रास र क्षति निम्त्याउने गर्छ, यसलाई रोक्न भविष्यमा के गर्नुपर्ला ?
पूर्वसूचनामा अहिले अपनाइएको अभ्यासलाई थप प्रभावकारी बनाउनुपर्छ । त्यस्तै, जल तथा मौसम विज्ञान विभागको शाखा र विपत् न्यूनीकरण प्राधिकरणविचको समन्वयलाई अझ मजबुत बनाऔँ । त्यसबाहेक हाम्रा सडक तथा पूर्वाधार बनाइँदा बाढीपहिरो थेग्ने गरी बनाउन ध्यान दिनुपर्छ । त्यसबाहेक बस्ती बसाउँदा माटोको पानी थेग्ने क्षमतालगायतका मापदण्ड तय गर्नुपर्छ । त्यस्तै, बाढी अहिले नै जोखिमपूर्ण क्षेत्रमा रहेका बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न ध्यान दिनुपर्छ ।

सुझावित समाचार