बाढीले सर्लाहीका १६ सयभन्दा बढी परिवारको बिचल्ली

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

अविरल वर्षा र त्यसपछिको बाढीका कारण सर्लाहीमा एक हजार ६१९ परिवारको बिचल्ली भएको छ भने १९ जनालाई उद्धार टोलीले सुरक्षित स्थानमा पुर्याएको छ । 

वर्षापछि जिल्लाको लखन्देही, झिम, बाँके, सोती, मनुस्मारालगायतका खोलामा आएको बाढीले एक हजार ६१९ परिवार विस्थापित भएका हुन् । यस्तै, बाढीमा फसेका १९ जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । उद्धार गरिएका र विस्थापित सम्पूर्ण परिवारलाई प्रहरीले सुरक्षित स्थानमा पुर्याएको छ ।

वर्षापछि जिल्लाको साना तथा ठुला खोला तथा खहरेहरूमा ठुलो बाढी आएको छ भने बागमती नदीको बाढीले जिल्लाको दक्षिणी क्षेत्र बलरा नगरपालिकाको चारवटा गाउँ डुबाएको छ । यहाँ सबैभन्दा धेरै लखन्देही खोलाले क्षति पुर्याएको स्थानीयको भनाइ छ । जिल्लाको बिच भाग भएर बग्ने यस खोलाले चक्रघट्ट, कौडेना र गोडैतामा समेत डुबाएको छ । 

लखन्देही खोलाको पानी गाउँ पस्दा चक्रघट्ट गाउँपालिका– १, पडरियामा २० वटा कच्ची घर कामै नलाग्ने भएको छ । कौडेना गाउँपालिका– ३ मा १५० मिटर हुलाकी सडक बगाएको छ । जिल्लाको ब्रह्मपुरी गाउँपालिका– ७ मा रहेको कल्भर्ट आदवारा खोलामा आएको बाढीले बगाउँदा ब्रह्मपुरी–भक्तिपुर–चौलिखा सडक अवरुद्ध छ । 

बाढी तथा डुबानका कारण जिल्लाको बसबरिया, चक्रघट्ट, धन्कौल, कौडेना र ब्रह्मपुरी गाउँपालिका तथा मलंगवा, बलरा, बरहथवा, हरिवन, गोडैता र कविलासी नगरपालिकाका स्थानीय बढी प्रभावित छन् । प्रहरीका अनुसार बाढीले चक्रघट्ट गाउँपालिका– ५ मा १८ घरपरिवार विस्थापित छन् । उनीहरू छिमेकीकोमा शरण लिएर बसेका छन् । 

यस्तै, जिल्लाको बसबरिया गाउँपालिकास्थित बागमती खोलामा फसेका दुईजनालाई प्रहरीले उद्धार गरेको छ । लखन्देही खोलाको पानीले मलंगवा नगरपालिका– ५, भाडसरमा दुई सय परिवार विस्थापित भएका छन् । मलंगवा नगरपालिका– ८, गोरखकालीमा रहेको भन्सार कार्यालय र प्रहरी चौकीमा समेत पानी जमेको छ । 

यसैबिच बलरा नगरपालिका १, ३, ४ र ५ नम्बर वडामा गरी नौ सय घर डुबानमा परेका छन् भने सोही पालिकाको वडा नम्बर ४ को सहनी टोला र मुस्लिम टोल डुबानमा परेका छन् । मनुस्मारा खोला र वर्षाको पानीले धन्कौल गाउँपालिका– ३ हरकठवा र वडा नम्बर ४ महिनाथपुर समेत जोखिममा परेको छ । 

खोलाको पानी जुनसुकै वेला गाउँ पस्न सक्ने जोखिम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । उक्त खोलाको पानीले धन्कौलबाट रौतहटको धरमपुर जोड्ने दुई सय मिटर बाटोसमेत अवरुद्ध बनाएको छ । बरहथवामा सोती र टिकुलिया खोलाको पानीले वडा नम्बर ७ र १६ का बस्तीमा जोखिम निम्त्याएको छ । 

यसैबिच कौडेना गाउँपालिका– ७ शिवनगर, वडा नम्बर ३ कौडेना, वडा नम्बर–५ पर्सा र छप्कैया, वडा नम्बर– ६ सक्रौल गाउँमा लखन्देही खोलाको बाढी पसेर ठुलो क्षति पुर्याएको छ । खोलाले बाँध कटान गरेर शिवनगर गाउँमा पानी पसेको थियो । यहाँ चार सय घरधुरी विस्थापित भएका छन् । कौडेना र छप्कैयामा समेत घरहरू पानीमा डुबेका छन् । उक्त स्थानबाट प्रहरीले १७ जनालाई उद्धार गरेको छ । 

वर्षाले घरको पर्खाल भत्किँदा कविलासी नगरपालिका– २ पिपरियामा अन्दाजी नौ वर्षकी शिवानी सिंहको खुट्टा भाँचिएको छ । कविलासी नगरपालिका– ८, अघर्वा र वडा नम्बर– ४, हेमपुरमा पनि पानीको निकास नहुँदा घरहरूमा पानी पसेको हो । 

गोडैता नगरपालिका– ८, प्रहरी चौकी गोडैता र चन्द्रनगर गाउँपालिका– ५ स्थित प्रहरी चौकी मोहनपुरको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
 

सुझावित समाचार