अविरल वर्षाले मधेश प्रदेशका विभिन्न जिल्लाका नदीनालाहरूमा पानीको बहाव बढे पनि यातायात पूर्ण रूपमा सञ्चालनमा रहेको मधेश प्रदेश ट्राफिक प्रहरीले जनाएको छ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार प्रदेशका प्रमुख राजमार्गहरू पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्गमा सवारीसाधनको आवतजावत सामान्य रूपमा भइरहेको छ।
वर्षाका कारण कतिपय स्थानका मुख्य राजमार्गमा अस्थायी डाइभर्सन वा वैकल्पिक बाटो प्रयोग गरिएको भए पनि अहिले सबै सडक नियमित भइसकेका छन्। सिलवालका अनुसार बारा, पर्सा, रौतहट, सिराहा, धनुषा, सर्लाही, महोत्तरी र सप्तरी जिल्लामा हालसम्म कुनै ठुलाे क्षति वा सडक अवरोधको रिपोर्ट प्राप्त भएको छैन।
मधेश र कोशी प्रदेशको सिमानामा पर्ने सप्तकोशी नदीमा पानीको बहाव बढेपछि सुरक्षाका कारण कोशी ब्यारेजमा सवारी सञ्चालन अस्थायी रूपमा रोकिएको छ। नदीको सतहमा लगातार वृद्धि भएपछि सम्भावित जोखिम टार्न ब्यारेजको मार्ग बन्द गरिएको हो।
यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक दीपक केसीका अनुसार बाराभित्रका कुनै पनि सडक अवरोध भएका छैनन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत निजगढ नगरपालिकामा पर्ने राजमार्गका लच्का क्षेत्रमा पानीको सतह गएराति उच्च बनेपछि साना सवारीसाधनहरूलाई वैकल्पिक बाटो प्रयोग गरी यातायात सञ्चालन गरिएको थियो। तर, अहिले पानीको सतह घटेकाले डाइभर्सन हटाई सडक पूर्ण रूपमा सञ्चालनमा आएको उनले जानकारी दिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक केसीका अनुसार निर्माणाधीन दुधौरा पुल क्षेत्रको अवस्थाबारे स्थलगत निरीक्षण गरी सुरक्षित देखिएपछि डाइभसर्नमा रहेको बेली ब्रिजमार्फत सवारीसाधन सहज रूपमा चलिरहेका छन् भने बाराका अन्य सबै मार्गहरू पनि सामान्य अवस्थामा सञ्चालनमा रहेका जानकारी दिए।
यस्तै, रौतहट र पर्सा जिल्लाका ट्राफिक कार्यालयहरूले पनि स्थानीय सडकहरूमा सवारी सञ्चालनमा कुनै अवरोध नभएको जानकारी दिएका छन्। रौतहटमा बागमती नदीमा पानीको बहाव केही बढेको भए पनि पुल तथा सडकमा क्षति नपुगेको जनाइएको छ। राजमार्गमा प्रहरीको नियमित गस्ती तथा ट्राफिक व्यवस्थापन भइरहेको छ।
ट्राफिक प्रहरीले नागरिकहरूलाई अफवाह वा अपुष्ट सूचनामा विश्वास नगरी आधिकारिक निकायबाट मात्रै जानकारी लिन अनुरोध गरेको छ। सडक अवस्थाबारे सामाजिक सञ्जालमा गलत हल्ला फैलाउने प्रवृत्तिले यात्रुहरूमा अनावश्यक डर फैलाउने कार्य भएको हुँदा सवारीचालक र यात्रुहरूले ट्राफिक कार्यालय वा स्थानीय प्रशासनका सूचनामाथि मात्र भर पर्नुपर्ने सुझाव जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक केसीले दिए।