टी–२० विश्वकपको छनोट खेल खेल्न ओमानमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो वार्मअप खेलमा सहज जित निकालेको छ। शनिबार भएको खेलमा ओमानलाई नेपालले ६ विकेटले हराएको हो।
पहिला ब्याटिङ गरेको ओमान ११० रनमा समेटिएको थियो। नेपालले १११ रनको लक्ष्य चार विकेट गुमाएर १७ ओभरमै पूरा गरेको हो। नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका थिए।
बलिङतर्फ दीपेन्द्रसिंह ऐरीले तीन तथा सन्दीप लामिछाने र सोमपाल कामीले दुई–दुई विकेट लिए।
ओमानमा अर्काे वार्मअप खेल नेपालले सोमबार कतारसँग खेल्नेछ। ८ अक्टोबरदेखि छनोट खेल सुरु हुँदै छ । तीन समूहमा नौवटा टोलीबिच विश्वकपका लागि प्रतिस्पर्धा हुँदै छ। नेपालको समूहमा जापान र कुवेत छन्। हरेक समूहबाट दुई उत्कृष्ट टोली सुपर सिक्समा पुग्नेछन् भने सुपर सिक्समा पनि उत्कृष्ट हुने तीन टोलीले विश्वकपमा आफ्नो स्थान बनाउनेछन्।
