काठमाडौंको गुर्जुधारामा भएको दुर्घटनामा एक बालक गम्भीर घाइते भएका छन्। बिहीबार दिउँसो ४ः४० को समयमा गुर्जुधाराबाट कलंकीतर्फ जाँदै गरेको मोटरसाइकलको ठक्करबाट बाटो काट्दै गरेका पैदलयात्रु पाँच वर्षीय बालक सिद्धार्थ रोकाय गम्भीर घाइते भएका हुन्। उनको माइतीघरस्थित सिद्धार्थ न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बा.प्र.०२–०३६ प २४१८ नम्बरका मोटरसाइकलचालक हल्चोक बस्ने २९ वर्षीय जीवन उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ।
पछिल्लो २४ घण्टा (१६ गते बिहान ६ बजेदेखि १७ गते बिहान ६ बजेसम्म)मा उपत्यकामा नौवटा दुर्घटनामा भएकोमा दुईजना गम्भीर घाइते भएको र नौजना सामान्य घाइते भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताए। चाडपर्वको समयमा बढी दुर्घटनाको जोखिम हुने भएकाले सडकमा सतर्कता अपनाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।