नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छिन् । क्लब र अञ्जिलाबिच आधा सिजनका लागि सम्झौता भएको हो । अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छिन् ।
अञ्जिला तेस्रोपटक भारतीय लिग खेल्दै छिन् । यसअघि पनि उनले सेथुबाट खेलेकी हुन् । सन् २०२३–०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान नै थिइन् ।
पछिल्लो सिजन भने उनले युरोपेली लिग खेलेकी हुन् । युरोपेली लिग खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी उनले ग्रिसको निस अट्रोमिटौबाट एक सिजन खेलेकी हुन् ।
यसपटक विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट एएफसी महिला च्याम्पियन्स लिगको छनोट खेल पनि खेल्न भ्याइन् । तर, ताजकिस्तानमै रहँदा सम्झौता गर्न नपाएपछि उनी आधा सिजनपछि मात्रै युरोपेली लिगका लागि आबद्ध हुने तरखरमा छिन् ।
‘युरोपबाटै खेल्ने अवसर पनि आएको थियो । तर, ताजकिस्तानमा हुँदा सम्झौता गर्न पाइनँ,’ अञ्जिलाले भनिन्, ‘तत्काललाई सेथुबाट भारतीय लिग खेल्छु । मध्यसिजनमा पुनः युरोपेली क्लबसँग नै जोडिन्छु ।’ यसअघि अञ्जिलाले पाकिस्तानी टिम मासा युनाइटेडबाट पनि खेलेकी थिइन् ।
अञ्जिलाले हालसम्म देशका लागि ५७ खेल खेलिसकेकी छिन् । उनी देशका लागि सर्वाधिक खेलमा आर्म ब्यान्ड लगाउने खेलाडीमा पर्छिन् ।
नोभेम्बरबाट सुरु हुने भारतीय महिला लिगमा पूर्वविजेता इस्टबंगालसहित आठ टिम सहभागी हुँदै छन् । भारतीय लिग हालसम्म गोकुलम केरेलाले सर्वाधिक तीनपटक जितेको छ ।