कर्मचारीको पोल्टामा चौथो दाजुभाइ भेट्रान्स कपको खसी

बुधबार, १५ असोज, २०८२
डिजिटल संस्करण

हिन्दु धर्मावलम्बीहरूको महान् चाड दसैँको अवसरमा सिराहाको गोलबजारमा आयोजित ‘चौथो दाजुभाइ भेट्रान्स खसी कप २०८२’ को पहिलो खसी गोलबजार कर्मचारी भेट्रान्सको पोल्टामा परेको छ ।  

‘हाम्रो गोल, स्वास्थ्य र तन्दुरुस्ती निम्तिको बोल’ भन्ने नारासहित गोलबजार स्पोर्टस् क्लबको अयोजनामा मंगलबार अपराह्न गुरुधामस्थित एकीकृत खेलग्राममा आयोजित भेट्रान्सको चौथो संस्करणको अन्तिम खेलमा गोलबजार कर्मचारी भेट्रान्सले कर्जन्हास्थित नन्दबाबा एकेडेमी भेट्रान्सलाई शून्यको विरुद्ध एक गोल गर्दै पहिलो पुरस्कारस्वरूप २५ किलोको खसी जितेको हो । खेलाडी साबिर चौधरीले गरेको एक गोलले गोलबजार भेट्रान्स खसी हात पार्न सफल भएको हो । 

प्रतियोगिताको विजेता टिमलाई समापन खेलका प्रमुख अतिथि दलित महिला केन्द्र नेपालका कार्यकारी निर्देशक लामा ‘कुमार’ले २५ किलोको खसीसहित प्रमाणपत्र हस्तान्तरण गरे भने उपविजेता नन्दबाबा एकेडेमी भेट्रान्सलाई स्थानीय युवा व्यवसायी प्रमोदकुमार यादवले १८ किलोको खसी र प्रमाणपत्र वितरण गरे । प्रतियोगिताको अन्तिम खेलमा म्यान अफ दी म्याच घोषित कर्मचारी भेट्रान्सका खेलाडी कृष्ण शाक्यलाई मधेश खेलकुद परिषद्का सदस्य निशेषकुमार श्रेष्ठले नगदसहित प्रमाणपत्र हस्तान्तरण गरे । 

प्रतियोगिताको समापन समारोहमा पुरस्कार वितरण गर्दै केन्द्रका कार्यकारी निर्देशक लामाले खेलकुदले आपसी सदभाव र एकता बलियो हुने चर्चा गर्दै समाजमा रहेका हरेक खालका विभेद अन्त्य गर्न खेलाडीहरूले अहं भूमिका खेल्नुपर्ने औँल्याए । ‘उमेर समूहको कारणले खेलकुद रोकिनुहुँदैन र स्वास्थ्यका लागि खेलकुद अनिवार्य छ’  भन्ने सन्देश दिने मुख्य उद्देश्यले १० असोजदेखि थालिएको प्रतियोगिताको आयोजना र व्यवस्थापनका लागि दलित महिला केन्द्रको सहयोग रहेको क्लबका सल्लाहकार कसम लामाले जानकारी दिए । उनका अनुसार सिराहा र धनुषाका आठवटा टिम सहभागी रहेको प्रतियोगिताका लागि पहिलो पुरस्कार गोलबजार– २ का वडाध्यक्ष सुकदेव सिंह र दोस्रो पुरस्कार युवा व्यवसायी यादवले प्रायोजन गरेका थिए । वडाध्यक्ष सिंहले भेट्रान्सको पहिलो संस्करणदेखि नै पहिलो पुरस्कार खसीको प्रायोजन गर्दै आएका छन् ।

सुझावित समाचार