जेन-जी आन्दोलनका क्रममा गरिएको तोडफोड र आगजनीबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब पौने १० करोडबराबरको क्षति भएको छ ।
मुख्यमन्त्री कार्यालयपरिसरमा राखिएका सातवटा चारपांग्रे सवारीसाधन, १३ सरकारी मोटरसाइकल र तीनवटा स्कुटी जलेर नष्ट भएका थिए । आन्दोलनको दिन मुख्यमन्त्री कार्यालयमा रहेका दुईजना मन्त्रीको गाडी पनि त्यहीँ जलाइएको थियो । मुख्यमन्त्री कमलबहादुर शाह, सामाजिक विकासमन्त्री मेघराज खड्का, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, प्रमुख सचिव डा. कमलप्रसाद पोखरेल चढ्ने गाडी जलाइएको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सूचना अधिकारी जगदीश जोशीका अनुसार आगजनी र तोडफोडबाट नौ करोड ७४ लाख ५१ हजार रुपैयाँको क्षति भएको छ । कार्यालयको पहिलो र दोस्रो तलाका लगभग सबैजसो सामान जलेका थिए । आगजनीबाट दोस्रो तलामा रहेको मुख्यमन्त्रीको कार्यकक्षको नामनिसानसमेत बाँकी रहेन ।
लेखासम्बन्धी कागजात र तेस्रो तलामा रहेका प्रशासनसम्बन्धी केही कागजात भने जोगिएकाे जोशीले जानकारी दिए । टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टर, टिभी, दराज, सोफा, भवनका झ्याल, ढोका, कार्पेट, मार्बललगायत सबै सामान नष्ट भएको उनले बताए । केही सामान चोरीसमेत भएको बताइएको छ ।
मुख्यमन्त्री कार्यालयले तयार पारेको क्षतिको विवरणअनुसार कार्यालय र निवासमा रहेका भाँडाकुँडासमेत भेटिएनन् । आन्दोलनका क्रममा धनगढीमा रहेका अधिकांश सरकारी कार्यालय आगजनी गरिएको थियो । सबैभन्दा बढी क्षति मुख्यमन्त्री कार्यालय र प्रदेश सभामा भएको बताइएको छ । सबै सामान जलाइनुका साथै भवनमा समेत क्षति भएपछि मुख्यमन्त्री कार्यालयको सेवा प्रवाहमा समस्या भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले निवासबाट काम गरिरहेका छन् । सबैभन्दा माथिल्लो तलामा कम क्षति भएकाले अहिले त्यहीँबाट काम सुरु गरिएको जोशीले बताए ।
जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले सुदूरपश्चिम प्रदेश सभा भवन तहसनहस भएको छ । आगजनीबाट क्षतिग्रस्त प्रदेश सभा भवनमा प्रदेश सभा बैठक बस्न सक्ने अवस्था छैन । प्रदेश सभाको बैठक सञ्चालन हुने बैठक कक्षका टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटप, डिजिटल क्यामेरा, भिडियो क्यामेरा, फोटोकपी मेसिन प्रिन्टर, एसीलगायत सामानजलेर नष्ट भएका छन्, हल खण्डहर बनेको छ ।
सचिवालय, विषयगत समितिका कार्यालयहरु, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका कार्यालयहरु पनि आगजनी गरिएको थियो । सचिवालयका अनुसार सभामुख, उपसभामुख, समिति सभापतिले चढ्नेसहित प्रदेश सभाका छ वटा चार पाङ्ग्रे गाडी र पाँच मोटरसाइकल आगजनीबाट नष्ट भएका छन् । सभामुख भीमबहादुर भण्डारीले अहिले प्रदेश सभा बैठक राख्न सक्ने अवस्था नरहेकाले बताए ।‘अहिले अन्य विकल्प प्रयोग गरेर बैठक सञ्चालन गर्नेतर्फ सोँचिएको छैन’ उनले भने, ‘दसैँ–तिहारको बिचमा हल बनाउँछौँ, त्यसपछि बैठक बस्छ ।’ प्रदेशका अन्य मन्त्रालयहरूमा पनि आगजनी गरिएको थियो ।