कुनै पनि पीडितले अन्यायको महसुस गुर्नपर्ने छैन : एसपी अंगुर जिसी

सोमबार, १३ असोज, २०८२
डिजिटल संस्करण

जिल्ला प्रहरी बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले पीडितमैत्री भएर काम गर्ने र कुनै पनि पीडितले अन्याय महसुस गर्नु नपर्ने बताए।

‘प्रहरी पहिलो न्यायाधीश पनि हो,’ उनले भने, ‘हामीले निष्पक्ष भएर काम गर्दा धेरैलाई न्याय दिन सकिन्छ, बाँकेमा कुनै पनि पीडित व्यक्तिले अन्याय महसुस गर्न नपर्ने गरी काम हुनेछ। प्रहरीको सेवाका लागि कसैको भनसुन चाहिँदैन ।’ 

हालैको राजनीतिक परिवर्तनपछि युवापक्षले सुशासन र पारदर्शिता खोजेको र सरकार त्यही भावनाअनुसार अघि बढेकाले प्रहरीले पनि त्यही सोचअनुसार काम गर्ने उनको भनाइ छ। आन्दोलनपछि धेरैले असुरक्षाको महसुस गरेको भन्दै उनले त्यसलाई हटाउन नागरिकसँगको सहकार्य आवश्यक रहेको बताए। 

‘समाजमा गलत मान्छे भनेका पाँच प्रतिशत हुन्, ९५ असल मान्छे छन्, ९५ प्रतिशत नागरिक मिलेर पाँच प्रतिशत खराबलाई निस्तेज बनाउनुपर्छ,’ उनले भने। चाडपर्वको समयमा जिल्लामा धार्मिक तथा साम्प्रदायिक दंगा भड्काउने सम्भावना रहेकाले त्यसलाई शान्तिपूर्वक बनाउन प्रहरीले तयारी गरिरहेको बताए। एसपी जिसी एक साताअघि बाँकेमा हाजिर भएका हुन्। 
 

सुझावित समाचार