नेपालीहरूको महान् चाड बडादसैँको समयमा नेपाली खेलाडी विदेशी मैदानमा अन्तर्राष्ट्रिय खेलमा व्यस्त छन् । नेपाली राष्ट्रिय पुरुष तथा महिला क्रिकेट खेलाडी यतिवेला अन्तर्राष्ट्रिय सिरिजमा सहभागी हुन विदेशमै छन् । साथसाथै पौडी, कराँते, अल्ट्रा ट्रेल रन र मोटर स्पोर्टस्का खेलाडीले नेपालको झन्डा लिएर विदेशमा आफ्नो उपस्थिति जनाइरहेका छन् । परिवारसँगै दसैँ मनाउनेभन्दा पनि राष्ट्रको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुलाई ठुलो मानेका छन् ।
पुरुष क्रिकेटर युएईमा
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अहिले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० आई सिरिजमा प्रतिस्पर्धा गर्न युएईमा छ । नेपालले पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजमाथि १९ रनको सनसनी जित निकाल्यो । हुन त यतिवेला नेपाली पुरुष टोली नेपालमै हुनुपर्ने थियो । तर, नेपालको एक मात्र अन्तर्राष्ट्रिय मान्यताप्राप्त त्रिवि क्रिकेट मैदानको स्तरीकरण भइरहेको छ । नेपाल र वेस्ट इन्डिजबिचको सिरिज नेपालमै हुनुपर्ने थियो । त्रिवि क्रिकेट मैदान पुनर्निर्माण भइरहेका कारण नेपाल क्रिकेट संघ (क्यान)ले खेल युएईमा राखेको हो ।
क्यानका सचिव पारस खड्काले आयोजकका रूपमा आफूहरू रहेको बताएका छन् । ‘यो खेल त्रिवि मैदानमा हुनुपर्ने थियो । केही प्राविधिक कारणवश हामीले युएईमा वेस्ट इन्डिजलाई पाहुनाका रूपमा निम्तो दिएका छौँ,’ गत शुक्रबार दुई देशबिचको खेलअघि प्रिपोस्ट म्याचमा खड्काले भनेका थिए, ‘यतिवेला हामीले सारजाहलाई घरेलु टोलीका रूपमा प्रयोग गर्नेछौँ ।’
नेपालले सोमबार वेस्ट इन्डिजसँग दोस्रो टी–२० आई खेल्नेछ । नेपालले नतिजा आफ्नो पक्षमा राख्दा एक खेलअगाडि नै सिरिज हात पार्नेछ । नेपालले मंगलबार अन्तिम खेल खेल्नेछ । वेस्ट इन्डिजसँगको खेलपछि नेपाली टोली ओमान हुने आइसिसी विश्वकप टी–२० अन्तर्गत एसियन छनोट खेल्नेछ । छनोट प्रतियोगिता सुरु हुनुअघि नेपालले एक साताको अभ्यासको अवसर पाउनेछ । जसका कारण नेपाली क्रिकेट टोली पूरै दसैँभरि नै अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त रहनेछ । वेस्ट इन्डिजविरुद्ध खेल्न जानुअघि नेपालका कप्तान रोहित पौडेलले नेपाली जनतालाई खुसी दिलाउने बताएका छन् । ‘दसैँको वेलामा हामी क्रिकेट खेलिरहेका हुन्छौँ । हामी नेपाली जनतालाई खुसी दिलाउने नतिजा निकाली घर फर्कन्छौँ,’ उनले भनेका थिए, ‘हामीले एउटा अवसर पाएका छौँ ।’
मलेसियामा महिला क्रिकेटर
नेपाली राष्ट्रिय महिला टोलीका खेलाडी अन्तर्राष्ट्रिय खेल र फ्रेन्चाइज लिगमा सहभागी हुन मलेसियामा छन् । राष्ट्रिय टोलीका १४ जना खेलाडी नै मलेसियामा विभिन्न टोलीमा आबद्ध भएर प्रतिस्पर्धा गरिरहेका छन् । मलेसियमा टी–२० सिरिज चलिरहेको छ । यसमा पाँच फ्रेन्चाइज टोली छन् । यसै पाँच फ्रेन्चाइज लिगमा नेपालका महिला क्रिकेटर विभिन्न क्लबमा आबद्ध छन् । यो प्रतियोगिता २४ देखि ३० सेप्टेम्बरसम्म चल्नेछ ।

यसपछि सुपर महिला सिरिज सुरु हुनेछ । यो सिरिज १६ देखि २२ असोजसम्म चल्नेछ । १६ असोजमा टीकाकै दिन नेपालले पहिलो टी–२० आई खेल्नेछ । नेपाली टोलीमा इन्दु बर्मा, पूजा महतो, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्री धामी, कविता कुँवर, रुविना क्षेत्री र सीता रानामगर छन् । क्यानले सिरिजका लागि पाँच खेलाडी परिवर्तन गरेको थियो । अनुभवी खेलाडी सीता रानामगरले टोलीमा पुनरागमन गरेकी हुन् । यसैगरी, यशोदा विष्ट र सावित्री धामी पहिलोपटक टोलीमा समावेश भएका हुन् ।
कराँते खेलाडीले वान सिरिज खेल्ने
केही वर्षदेखि नेपालको कराँते टोली दसैँका वेला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आइरहेको छ । यसैको निरन्तरताजस्तै हो । यसपटक नेपाली कराँते खेलाडी दसैँकै वेलामा मलेसियामा हुनेछन् । मलेसियाको क्वालालम्पुरमा ३ देखि ५ अक्टोबरसम्म आयोजना हुने डब्लुकेएफ कराँते वान सिरिज ‘ए’मा चार नेपाली महिला खेलाडीले भाग लिनेछन् । एरिका गुरुङ, वर्षा बुढामगर, सविना श्रेष्ठ र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नेछन् । खेलाडी मात्र नभएर प्रशिक्षक कुशल श्रेष्ठले पनि उतै हुनेछ ।
एसियाली एक्वेटिक्समा नेपाल
दसैँ चलिरहँदा नेपालका ११ पौडीबाजले भारतमा आइतबारदेखि सुरु भएको एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११औँ संस्करणमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता अहमदाबादमा ११ अक्टोबरसम्म चल्नेछ । च्याम्पियनसिपमा ११ पुरुष र पाँच महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषमा अबिर प्रधान, आरोन भण्डारी, असीम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन महर्जन, अभिभ प्रधान, रेवन्तबहादुर श्रेष्ठ, जाडेन श्रेष्ठ, निर्णय थापा, अथर्व सिंह र वसिष्ठराज शाहीले प्रतिस्पर्धा गर्नेछन् । महिलामा आर्या महर्जन, टिसा महर्जन, अदिप्सा वैद्य, श्रेणु महर्जन र भैनवी श्रेष्ठले खेल्नेछन् । नेपाली टोलीको प्रशिक्षण शंकर कार्कीले गर्नेछन् ।
फुटबल खेलाडी विदेशी लिगमा
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख खेलाडीहरू बंगलादेशको प्रिमियर लिगमा व्यस्त हुनेछन् । नेपालका कप्तान किरण चेम्जोङ (बंगलादेश पुलिस एफसी), आयुष घलान (बंगलादेश पुलिस एफसी), योगेश गुरुङ (ब्रदर्स युनियन), अञ्जन विष्ट (ब्रदर्स युनियन), सनिश श्रेष्ठ (ब्रदर्स युनियन), एरिक विष्ट (ब्रदर्स युनियन), अनन्त तामाङ (फोर्टिस एफसी) र अभिषेक लिम्बू (रहमतगन्ज) यस सिजन बंगलादेशको लिगमा आबद्ध भएका हुन् । गत भदौमा दशरथ रंगशालामा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेल्नका लागि उनीहरू नेपाल फर्किएका थिए । पहिलो खेल गोलरहित बराबरी भयो । जेन–जीको आन्दोलनका कारण दोस्रो खेल रद्द भयो । नेपाली टोलीको अन्तर्राष्ट्रिय खेल नभएका कारण सिनियर पुरुष खेलाडीहरू बंगलादेशी लिग खेल्न पुनः त्यसतर्फ फर्किएका थिए । नेपालले अक्टोबर ९ र १४ मा भियतनामको रंगशालामा एएफसी एसिया कप छनोट खेल खेल्नेछ । अखिल नेपाल फुटबल संघले नेपालमै उपलब्ध भएका खेलाडीलाई प्रशिक्षणमा राखेको छ ।

पुरुष खेलाडी मात्र नभएर महिला खेलाडी पनि विदेशी लिगमै व्यस्त छन् । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी पहिलोपटक अस्ट्रेलियन लिगमा आबद्ध छिन् । सावित्रा न्युजिल्यान्डको क्लब वेलिङटन फोनिक्समा अनुबन्ध हुँदै अस्ट्रेलियाको शीर्ष श्रेणीको महिला फुटबल खेल्नेछ । वेलिङटनले शीर्ष डिभिजन लिग खेल्न स्वदेशी तथा विदेशी खेलाडीलाई यतिवेला प्रशिक्षणमा राखेको छ । सावित्राबाहेक प्रीति राई जोर्डनको लिग तथा पूजा रानाले भुटानको लिगमा व्यस्त हुनेछन् ।