विश्व ट्रेल रनमा सुनमायाले जितिन् रजत

सोमबार, १३ असोज, २०८२
डिजिटल संस्करण

सुनमाया बुढाले विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा रजत पदक जितेकी छिन् । स्पेनको क्यान फ्रान्कमा भएको प्रतियोगितामा सुनमायाले ८१ किलोमिटर लामो दूरीको ट्रेल रनमा दोस्रो स्थान हात पार्न निर्धारित दूरी १० घण्टा २३ मिनेट ३ सेकेन्डमा पूरा गरेकी हुन् । पहिलो स्थानमा रहेकी अमेरिकन अल्ट्रा धावक केटी सिम्ट सुममायाभन्दा २६ मिनेटले अगाडि रहिन् ।

तेस्रो संस्करणको विश्व माउन्टेन तथा ट्रेल रनिङमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको हो । विश्व माउन्टेन रनिङ एसोसिएसनले आयोजना गरेको प्रतियोगितामा पहिलोपटक विश्व एथलेटिक्स र इन्टरनेसनल एसोसिएसन अफ अल्ट्रा रनर्स मिलेर सहकार्य गरेका थिए । प्रतियोगितामा ८० देशका एक हजार सात सय खेलाडी सहभागी थिए । सहभागी संख्याका रूपमा यो अहिलेसम्मकै ठुलो अल्ट्रा रन च्याम्पियनसिप हो ।

नेपाल एडभेन्चर रनिङ फेडेरेसनले नेपालबाट सुनमायासहित सुमन कुलुङ, साङे शेर्पा र मनकुमार रोकालाई प्रतियोगितामा सहभागी गराएको थियो । ८२ किलोमिटर लङ ट्रेलमा सुमन ३२औँ स्थानमा र मनकुमार ३६औँ स्थानमा रहे । संघका अध्यक्ष एकेन्द्र कुँवरले नेपालले प्राप्त गरेको सफलता व्यक्तिगत मात्र नभएर नेपाली ट्रेल रनिङको विश्वस्तरीय उपस्थिति र सम्भावनालाई उजागर गरेको बताए । 

उत्कृष्ट फर्ममा रहेकी सुनमाया
पछिल्लो समयमा सुनमायाले लगातार अन्तर्राष्ट्रिय ट्रेल रेसहरूमा भाग लिइरहेकी छिन् । अझ यो एक वर्ष उनी उत्कृष्ट फर्ममा छिन् । गत वर्षको कात्तिकमा सुनमायाले चीनमा भएको अल्ट्रा ट्रेल रेसमा कीर्तिमानी समयसहित उपाधि जितेकी थिइन् । उनले अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस पाँच घण्टा ४०ः०३ मिनेटमा निर्धारित ६० किलोमिटर दूरी पूरा गरिन् । सुनमायाले कोर्स रेकर्डसहित उपाधि जितेकी थिइन् । सो रेसमा इस्टर सिलाङले ६ घण्टा ५ः३७ मिनेटमा निर्धारित दूरी पूरा गरिन् । उनले गत चैतमा चीनमै भएको गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि उनले जितेकी थिइन् ।

यसैगरी, बुढा फ्रान्समा भएको सय किलोमिटर अल्ट्रा रेसमा सुनमाया दोस्रो स्थानमा रहेकी थिइन् । विश्वकै चर्चित अल्ट्रा दौड युटिएफबी विश्व च्याम्पियनसिपको सय किलोमिटर दौडमा उनले ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गरिन् । सुनमाया शीर्ष स्थानमा रहेकी फ्रान्सकी ब्लाडिनभन्दा पाँच मिनेटले पछि परेकी थिइन् ।

निरन्तर अल्ट्रा रेसमा सहभागी 
सुनमायाले एक वर्षको अवधिमा एसियादेखि युरोपियन राष्ट्रहरूले आयोजना गर्ने चर्चित अल्ट्रा रेसमा निरन्तर सहभागिता जनाउँदै आएकी छिन् । उनले स्विट्जरल्यान्ड, हङकङ, चीन, फ्रान्स, इटाली, ओमान, मलेसिया, अस्ट्रेलियालगायत देशमा आयोजित अल्ट्रा दौड प्रतियोगितामा प्रतिस्पर्धा गरेकी थिइन् । उनले गत वर्ष द नर्थ फेस एडभेन्चर टिममा आबद्ध हुँदै थाइल्यान्डमा भएको दौड जितेकी थिइन् । थाइल्यान्ड बाई युटिएमबी अल्ट्रा दौडमा जुम्लाकी सुनमाया महिलातर्फ पहिलो भएकी हुन् । उनले ११० किलोमिटरमा पुरुष खेलाडीहरूलाई समेत टक्कर दिएकी थिइन् । नेपालमा आयोजना हुने धरान म्याराथन, जुम्ला म्याराथन, व्रेथलेस रनिङ, एसएसआइजी, तेन्जिङ हिलारी, जुम्ला रारा अल्ट्रा, गोल्डेन वल्ड ट्रेल सिरिजमा सहभागी भएर उनले पदक जितेकी छिन् ।

सुझावित समाचार