ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिने बताएका छन् ।
विद्युतीय चार्जिङ स्टेसनमा गाडी चार्ज गर्न केही समय लाग्ने भएकाले यात्रुलाई लक्षित गरी त्यस वरपर होटेल, रेस्टुरेन्ट, कफीसप खोल्न सकिने र त्यसबाट रोजगारी सिर्जन हुने मन्त्री घिसिङले उल्लेख गरे ।
चेन्ज डिजिटलले काठमाडौंको सामाखुसीलगायतका देशका विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको चार्चिङ स्टेसनको आइतबार उद्घाटन गर्दै मन्त्री घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण आवश्यक रहेको बताए ।
चार्जिङ स्टेसन व्यवसाय गर्नका लागि लगानीको राम्रो क्षेत्र भएकाले यसबाट मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै घिसिङले नेपालमा उत्पादित जलविद्युत् खपतका लागि घरायसी, उद्योग, कलकारखानालगायतका सबै क्षेत्रमा उपभोग बढाएर पेट्रोलियम पदार्थको आयातलाई घटाउन सकिने बताए। यसबाट आयात घट्दा मुलुकको विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव परी अर्थतन्त्रमा ठूलो योगदान पुग्ने उनले थपे।
सरकारले विभिन्न नीति तथा योजनामार्फत विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको छ । सन् २०३० सम्ममा कुल निजी सवारीसाधनको ९० प्रतिशत र सार्वजनिक सवारीसाधनको ७० प्रतिशत विद्युतीय सवारी पुर्याउने लक्ष्य राखिएको छ ।
सन् २०३५ मा यो प्रतिशत वृद्धि गरी क्रमश: ९५ र ९० प्रतिशत पुर्याउने लक्ष्य छ । विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा ६२ वटा चार्जिङ स्टेसन स्थापना गरेको छ । निजी क्षेत्रका करिब आठ सयवटा चार्जिङ स्टेसन सञ्चालित छन् ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले केन्द्रीय नवीकरणीय ऊर्जा कोषअन्तर्गत भायबिलिटी ग्याप फन्डिङ सहयोगमा आधारित दिगो ऊर्जा च्यालेञ्ज फन्डमार्फत चार्जिङ स्टेसन स्थापनाका लागि सहयोग गर्दै आएको छ ।
केन्द्रबाट १८ वटा कम्पनीसँग ४५ वटा आयोजनामार्फत १२४ स्थानमा चार्जिङ स्टेसन निर्माणमा सहयोग गरिएको छ ।