एएफसी यू–१६ एसियन कप छनोट : पूजा र आयुषालाई मौका

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण

थाइल्यान्डमा आयोजना हुने एएफसी यू–१७ महिला एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा हुँदा तीन नयाँ खेलाडीले अवसर पाएका छन् । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २३ सदस्यीय टोलीलाई १३ देखि १७ अक्टोबरसम्म हुने प्रतियोगिताका लागि छनोट गरेका हुन् । यो टिमले साफ महिला यू–१७ च्याम्पियनसिप खेलेपछि २२ दिनको प्रशिक्षण गरेको थियो ।

टोलीमा स्ट्राइकर पूजा गिरी र अट्याकिङ मिडफिल्डर आयुषा रेउलेले पुनरागमन जनाउँदा चार साताअघि भुटानमा सम्पन्न साफ यू–१७ च्याम्पियनसिप खेल्ने टोलीबाट तीन खेलाडी प्रतिस्थापन भएका छन् । गोलकिपर गंगा गुरुङको ठाउँमा भूपिका शाहीलाई मौका दिइएको छ । आयुषाले सेन्ट्रल मिडफिल्डर दिकी स्याङ्बो तामाङ र पूजाले दीक्षा रानपाललाई प्रतिस्थापन गरेका हुन् ।

पूजा र आयुषाले गत वर्षको मार्चमा सम्पन्न साफ यू–१६ च्याम्पियनसिपको छैटौँ संस्करण खेलेका थिए । त्यसपछि गत डिसेम्बरमा सम्पन्न भुटानसँगको मैत्रीपूर्ण खेलमा पनि यी दुईले नेपालको जर्सी लगाएका थिए । चार साताअघि भुटानमा सम्पन्न साफ यू–१७ च्याम्पियनसिपको सातौँ संस्करणमा भने यी दुई अन्तिम टोलीमा अटाएका थिएनन् । चार टोली सहभागी प्रतियोगितामा नेपाल तेस्रो भएको थियो ।

पहिलो खेल तुर्कमिनिस्तानसँग
समूह ‘एफ’मा रहेको नेपालले आयोजक तुर्कमिनिस्तान र थाइल्यान्डसँग खेल्नेछ । अक्टोबर १५ मा तुर्कमिनिस्तान र १७ मा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । सिंगल राउन्ड रोबिन पद्धतिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष चीनमा हुने एसियन कपको १०औँ संस्करणमा स्थान बनाउनेछ । हालसम्म यो प्रतियोगिता नौपटक आयोजना हुँदा उत्तर कोरिया र जापानले सर्वाधिक चारपटक जितेका छन् । दक्षिण कोरियाले एकपटक मात्र च्याम्पियन भयो । छनोट प्रतियोगितामा आठ आयोजकसहित २७ राष्ट्र सहभागी हुँदै छन् । तीन च्याम्पियनसहित आयोजक चीन पनि सीधै फाइनल चरणमा स्थान बनाएको छ । अब, फाइनल चरणको प्रतियोगिताका लागि २७ मध्ये आठ टिम छनोट हुनेछन् ।

यस्तो छ नेपाली टिम
गोलकिपर : झरना डुम्राकोटी, लक्ष्मी ओली, भूपिका शाही

डिफेन्डर : दीक्षा रायमाझी, अलिजा कुमारी विक, ग्यान्सु डोल्मा लो, सम्झना चन्द, पूर्णिमा ताडी, अनु माझी, मीनमाया श्रेष्ठ, अन्सु विक

मिडफिल्डर : रविना विक, कृतिशा तामाङ, आशिका कार्की, सहारा लिम्बू, बबतिका कार्की, भूमिका बुढाथोकी, आयुषा रेउले, सिर्जना बडुवाल

फरवार्ड : अस्मिता मगर, पूजा गिरी, यमकुमारी विक, अनिता रानामगर

सुझावित समाचार