एसिया कप फाइनलमा भारतविरुद्ध पाकिस्तान : फाइनलमा हुन सक्ने चार निर्णायक क्षण

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण

पाकिस्तान र भारत ४१ सालपछि पहिलोपटक एसिया कप फाइनलमा आमनेसामने हुँदै छन् । समूह चरण र सुपर चारमा पाकिस्तानविरुद्ध भारत हाबी भएको छ । दुवै भेटमा भारत विजयी भएको हो । फाइनल खेल दुबईमा आइतबार हुँदै छ । यो खेल पनि निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । राजनीतिक तथा सीमा विवादका कारण पनि भारत र पाकिस्तानबिचको खेल निकै रोमाञ्चक हुने गरेको छ ।

खेलअघि विभिन्न अड्कलबाजी र अनुमान हुने गरेका छन् । पछिल्लो समय भारतीय खेलाडीले हात नमिलाएपछि समूह चरणको खेल निकै विवादास्पद बन्यो । जसको कारण पाकिस्तान प्रतियोगिता नखेल्ने भन्दै चेतावनी दिन पुग्यो । म्यान रेफ्रीले नै पछि माफी माग्नुपरेको थियो । खेलाडीको लय र आत्मविश्वासका कारण पनि पाकिस्तानभन्दा भारतीय खेलाडी निकै बलियो देखिन्छन् । यता, पाकिस्तानी टिममा पनि पछिल्लो प्रदर्शनले निकै उत्साह भरिएको छ । भारतसँग हारको बाबजुद पनि पाकिस्तानले श्रीलंका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियाये । फाइनल खेलमा यी दुई टोलीबिच हुन सक्ने चार निर्णायक मोड यस्ता रहेका छन् ।

पिच र टस
संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा चलिरहेको प्रतियोगिताको सबै खेलमा पिच निर्णायक भूमिका बनेको छ । सन् २०१८ पछि दुबईको मैदानमा आइसिसी शीर्ष आठ वरीयताका टिमबिच २० टी–२० आई खेल भए । जसमा १५ पटक लक्ष्य पछ्याउने टिमले जित निकालेको छ । खेलअघि सबै टिमका कप्तानले टस जित्न चाहन्छन् । त्यसपछि उनीहरूको लक्ष्य बलिङ गर्ने र खेल जित्ने हुन्छ । तर, पछिल्लो तीन खेलमा पहिला ब्याटिङ गर्ने टिमले जित्दै आएको छ । एक खेल टाई भएको छ । फाइनलअघि दुई टिमबिच टस जितेर ब्याटिङ गर्ने कि नगर्ने द्विविधा रहेको छ ।

भारतको मजबुत ओपनिङ 
भारतका ओपनिङ जोडी आफ्नो सानदार प्रदर्शनको लय कायम राख्दै पाकिस्तानविरुद्धको फाइनल जित्ने तयार देखिन्छन् । पछिल्लो नतिजाले पनि यस्तै भन्छ । अभिषेक शर्मा र शुभमन गिलको प्रदर्शन उच्च छ । अभिषेकले सुपर–४ मा लगातार तीन अर्धसतक बनाएका छन् । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । उनीसँग २०० भन्दा बढीको स्ट्राइक रेट रहेको छ । अभिषेकले आक्रामक रूपमा रन बनाउँदा उनलाई शुभमनले साथ दिएका छन् । शुभमन क्रिजमा टिकेर रन बनाउन साथ दिन माहिर छन् । पाकिस्तानविरुद्ध दुई खेलाडीले शतकीय साझेदारी पनि गरेका थिए । एसिया कपमै दुईजना खेलाडीले ६ खेलमा २७३ रन बनाएका छन् । दुबईको लो–स्कोरिङ पिचमा यी दुई खेलाडीको भूमिका पनि निर्णायक हुने अनुमान गरिएको छ ।

पाकिस्तानको तीव्र गतिको बलिङ
भारतविरुद्ध पाकिस्तानले आफ्नो तीव्रगतिको बलरलाई मुख्य हतियार बनाएको छ । साहिन शाह अफ्रिदी र हारिस रउफले पछिल्लो समय निकै राम्रो प्रदर्शन गरिरहेका छन् । दुवै खेलाडीले प्रतियोगितामा समान नौ विकेट पनि लिएका छन् । हारिसले चार तथा साहिनले ६ खेलमा नौ विकेट लिएका हुन् । साहिनले नयाँ बलबाटै सुरु गर्नेछन् । उनी ओपनिङ ब्याटरको विकेट लिँदै विपक्षीलाई दबाबमा राख्न आतुर देखिन्छन् । यता, मध्य तथा डेथ ओवरमा हारिस निकै फलदायी हुँदै आएका छन् । उनी तल्लो क्रमका ब्याटरलाई दबाबमा राख्न निकै सिपालु पनि छन् । उनैले भारतका कप्तान सूर्यकुमार यादवलाई तीन टी–२० आईमा तीनैपटक आउट गरेका छन् । पाकिस्तानलाई भातरविरुद्ध दबाब बनाउनुछ भने दुई खेलाडी स्वाभाविक लयमा रहनुपर्नेछ ।

भारतलाई स्पिनरको साथ
पछिल्लो समय भारतीय स्पिनरले देखाएको उच्च प्रदर्शनले पनि पाकिस्तानलाई हैरानी पारेको छ । कुलदीप यादव, वरुण चक्रवर्ती र अक्षर पटेल करिअरकै उच्च लयमा छन् । यी दुई खेलाडीबाटै भारत सानदार जित निकाल्ने योजनामा छ । पाकिस्तानका ब्याटरलाई भारतीय स्पिनरकै डर पनि छ । कुलदीपले ६ खेलमा १२ विकेट लिइसकेका छन् । उनी प्रतियोगितामै सर्वाधिक विकेट लिने खेलाडी बन्ने दाउमा छन् । वरुण र अक्षरले समान चार विकेट लिइसकेका छन् । कुलदीप पाकिस्तानविरुद्धको खेलमा एक न एक विकेट लिएकै छन् । पाकिस्तानी ब्याटरलाई कुलदीप र वरुणको स्पिन सम्झन निकै गाह्रो पर्ने गर्छ । स्पिनरबाहेक भारतको लागि तिव्रगतिका बलर जसप्रित बुमराहले पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

सुझावित समाचार