दोस्रो संस्करणको पर्वतीय दौडको उपाधि राउतलाई

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण

दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता ०८२ को उपाधि सुदूरपश्चिमका नरेन्द्रसिंह रावतले हात पारेका छन् । पोखराका महत्वपूर्ण तीन धार्मीक पर्यटकीयस्थललाई खेल पर्यटनका माध्यमबाट जोड्ने उदेश्यसँगै २७ सेप्टेम्बर अर्थात विश्व पर्यटन दिवसको अवसर पारेर शनिबार आयोजना गरिएको दौडको निर्धारित आठ किलोमिटर दुरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै रावतले उपाधि हात पारेका हुन् ।

पोखरा महानगरपालिका–२२ स्थित तीन धार्मीक पर्यटकीय स्थलहरू पुम्दी–भुम्दीमा रहेका विश्व शान्ति स्तुपा, पुम्दीकोटस्थित विशाल महादेव मूर्ति एवं निगाले डाँडास्थित बुद्धपार्कलाई खेल पर्यटनका माध्यमबाट जोड्ने उदेश्यसहित पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिक प्रालिले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिता विश्व शान्ति स्तुपबाट सुरु भएर पुम्दीकोटको महादेव मूर्ति परिक्रमा गरी पोखरा वडा नम्बर २२ कार्यालय हुँदै बुद्ध पार्कमा पुगेर समापन भएको थियो ।

दौडको निर्धारित दूरी ३६ मिनेट ३३ सेकेण्डमा पुरा गर्दै सुदूरपश्चिमकै करन रावल दोस्रो, ३७ मिनेट १६ सेकेण्डमा दुरी पार गर्दै कर्णालीका दलबहादुर कुँवर तेस्रो भए । यसैगरी गौतम श्रेष्ठ चौथो, सफल लामाले पाँचौं स्थान हात पार्दा क्रमशः पञ्चराम बुढा, बुद्धिराम गुरुङ, जोगेन्द्र बुढा, तेञ्जोन रोका मगर र इमोन गुरुङ छैटौंदेखि दशौं स्थान हात पारे ।
 
वडा नम्बर २२ स्तरीयतर्फ ४९ मिनेट १५ सेकेण्डमा दूरी पार गर्दै कुशल परियार प्रथम हुँदा ५१ मिनेट ०३ सेकेण्डमा दूरी पूरा गर्दै सुज्जल परियार दोस्रो भए । महिलातर्फ कोशीकी पदमकुमारी सुनुवारले ५३ मिनेट ३९ सेकेण्डमा दूरी पूरा गरी प्रथम स्थान हात पार्दा बागमतीकी नीतु तामाङले ५७ मिनेट ४६ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भइन् । 

१६ वर्षमुनिको प्रतिस्पर्धामा ४२ मिनेट ५८ सेकेण्डमा दूरी पार गर्दै प्रकाश थिङ प्रथम, ४८ मिनेटमा दूरी पार गर्दै तीलबहादुर परियार दोस्रो र ४९ मिनेट ५६ सेकेण्डमा दूरी पार गर्दै कमल पौडेलले तेस्रो स्थान हात पारे । विदेशी पर्यटकतर्फ फ्रान्सका थियो डनेटले ४९ः५१ मिनेटमा, ४० वर्ष माथिका भेट्रान्सतर्फ ५१ः०१ मिनेटमा दूरी पूरा गर्दै गण्डकीका किशोर थापा प्रथम भएका थिए ।
 
विभिन्न ६ विधाका प्रतिस्पर्धामा नेपालसहित बेलायत, नर्वे, इजरायल, प्र्रmान्स, अमेरिका, स्पेन र क्यानडाका गरि कुल १६७ जना धावकहरुले नाम दत्र्ता गरेकोमा उनीहरूमध्ये ११७ धावक सहभागी थिए । प्रतियोगितामा सहभागी धावकहरूमध्ये ८२ वर्षका पुम्दीभुम्दीका लीलबहादुर गुरुङलाई सिनियरतर्फ र ११ वर्षका गण्डकी बोर्डिङ स्कुलका आरोन नेपाललाई जुनियरतर्फको सहभागीको रुपमा पुरस्कृत गरिएको प्रतियोगिताका संयोजक दिननाथ वरालले जानकारी दिए । 

बुद्धपार्कमा आयोजित समापन समारोहमा विश्व कीर्तिमानी धावक तनहुँका वसन्त घिमिरे र विश्वशान्ति स्तूप समिति अध्यक्ष अशोक गुरुङलाई पोखरा प्रवद्र्धन विशिष्ट सम्मान प्रदान गरिएको थियो । वसन्तको अनुपस्थितिमा उनका छोरा शक्ति घिमिरेलाई सम्मान गरिएको थियो । 

विजेतामध्ये खुलातर्फ प्रथमले ५०, दोस्रोले ३०, तेस्रोले २०, चौथोले सात, पाँचौँले तीन र छैटौँदेखि १०औं स्थान हात पार्ने धावकहरूले जनही एक हजार नगद, मेडल र प्रमाणपत्र पाएका थिए ।

वडास्तरीय खुला, महिला र यू–१६ तर्फका विजेताले जनही १५, दोस्रोले सात र तेस्रोले तीन हजार नगद, मेडल र प्रमाणपत्र पुरस्कार पाए । भेट्रान र विदेशीतर्फका विजेताले जनही १५ हजार नगद प्रोत्साहन पुरस्कार पाए ।
 

सुझावित समाचार