सहारा क्लब पोखराको अध्यक्षमा केशवबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। क्लबको २७औँ साधारणसभा एवं १४औँ अधिवेशनले दुईवर्षे कार्यकालका लागि थापाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
अध्यक्षमा निर्वाचित थापाको यो तेस्रो कार्यकाल हो। थापाले यसअघि २०७४ देखि २०७८ सम्म गरी दुई कार्यकाल क्लबको नेतृत्व गरेका थिए।
अध्यक्षका लागि थापासँगै निवर्तमान वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङको उम्मेदवारी परेको थियो। गुरुङ तेस्रो कार्यकालका लागि पुनः वरिष्ठ उपाध्यक्ष रहने सहमतिपछि थापा अध्यक्ष बनेका हुन्।
यसैगरी, क्लबको उपाध्यक्षमा विनुराना मगर, महासचिवमा गंगाराम पौडेल, सचिवमा ज्ञानेन्द्र गुरुङ, कोषाध्यक्षमा लीलबहादुर थापा र सह–कोषाध्यक्षमा विष्णु गुरुङ निर्विरोध निर्वाचित भएका छन्। समितिको सदस्यहरूमा रोजिना गुरुङ, अम्मरराज भण्डारी, प्रमिला घले, विजय गुरुङ, शैलश गुरुङ र ज्योति केसी छन्।
‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद सहरको रूपमा स्थापित गरौँ,’ भन्ने मूल नाराका साथ क्लबले विगत २४ वर्षदेखि मोफसलकै प्रतिष्ठित ‘आहा ! रारा पोखरा गोल्डकप’ सञ्चालन गरिरहेको छ। प्रतियोगिताको मुख्य प्रायोजक आहा तथा रारा तयारी चाउचाउको उत्पादक कम्पनी हिमश्री फुड्स प्रालि हो।
२४ वर्षदेखि फुटबल प्रतियोगितासँगै विभिन्न सामाजिक काममा सक्रिय क्लबले ०५८ सालदेखि फुटबल एकेडेमीसमेत सञ्चालनका गरिरहेको छ। कठिन परिस्थिति र विपन्न वर्गका बालकहरू आश्रित पोखरा– १७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा हाल चौथो ब्याचका ३० जना बालकहरू प्रशिक्षणमा छन्। उनीहरूको आवास, पालनपोषणसँगै शिक्षा दीक्षा, फुटबल प्रशिक्षणको काम क्लबले नै गर्दै आएको छ।