सल्यानका तीन पालिकामा प्लास्टिकजन्य फूलमाला बिक्री-वितरणमा रोक

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण

सल्यानका स्थानीय तहहरूले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नका लागि प्लास्टिकजन्य फूलमाला बिक्री-वितरणमा रोक लगाएका छन्। प्लास्टिकजन्य फूलमालाले वातावरणमा नकारात्मक असर गर्ने तथा स्थानीय पुष्प किसानलाई प्रोत्साहन गर्न भन्दै स्थानीय तहले प्लास्टिकका फूलमाला बिक्री-वितरणमा रोक लगाएका हुन्।

किसानले उत्पादन गरेका फूललाई बजार उपलब्ध गराउन प्लास्टिकका फूलमालामा रोक लगाइएको शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए। उनले भने, ‘नगरभित्रै उत्पादन हुने फूलले बजार पाउने र किसानलाई आयआर्जनमा मद्दत पुग्ने भएकाले यस प्रकारको निर्णय गरेका हौँ।’

नगरपालिकाले प्लास्टुकजन्य फूलमाला बिक्री-वितरण गर्नेलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनेसमेत चेतावनी दिएको छ।

त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले वातावरण संरक्षणलाई प्राथमिकता दिँदै प्लास्टिकजन्य माला र अन्य पटाकाजन्य वस्तुको उत्पादन र बिक्रीमा पनि रोक लगाएको जानकारी दिए। उनका अनुसार नेपाल सरकारको वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ (१)ले दिएको कानुनी अधिकार प्रयोग गरी कार्यपालिकाको बैठकबाट निर्णय गरिएको हो।

यस्तै, कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार सोनीले स्थानीय किसानले उत्पादन गरेका फूललाई बजारमा प्राथमिकता दिलाउन प्लास्टिकका मालामा रोक लगाइएको बताए। ‘स्थानीय फूल प्रयोग गर्दा किसानको आम्दानी बढ्छ,’ उनले भने।

सुझावित समाचार