सन् २०१४ मा नेपालले टी–२० आईको मान्यता पाएको थियो । बंगलादेशमा भएको आइसिसी टी–२० आई विश्वकप क्रिकेटमा नेपालले हङकङसँग प्रतिस्पर्धा गरेको थियो । हङकङसँगको खेल नै नेपालको पहिलो अन्तर्राष्ट्रिय टी–२० खेल रह्यो । नेपालले डेब्यु टी–२० खेलमै जित निकालेको थियो । यो ११ वर्षमा नेपालले दुईपटक टी–२० विश्वकप खेलेको छ । यसैगरी, एसिया कपमा एकपटक नेपालले प्रतिस्पर्धा गरेको थियो ।
नेपालले टी–२० आई मान्यता पाएपछि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा आइसिसीका पूर्णकालीन सदस्यहरूसँग प्रतिस्पर्धा गर्न अवसर पाएको छ । तथ्यांकअनुसार नेपालले बंगलादेश, जिम्बावे, आयरल्यान्ड, भारत र दक्षिण अफ्रिकासँग अन्तर्राष्ट्रिय टी–२० आई खेलेको छ । अहिले नेपालको छैटौँ टेस्ट राष्ट्रका रूपमा वेस्ट इन्डिजसँग शनिबार सारजहाँमा प्रतिस्पर्धा हुँदै छ । यसअघि टेस्ट राष्ट्रसँग टी–२० आई प्रतिस्पर्धा गरे पनि नेपालले पहिलोपटक सिरिज खेल्न लागेको हो । समग्रमा नेपालले टेस्ट राष्ट्रसँग आठवटा टी–२० आई खेल खेलेको छ ।
सन् २०१४ को टी–२० विश्वकपमा नेपालले समूह चरणमै आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्ने अवसर पायो । जसमा पारस खड्काको कप्तानीमा रहेको नेपाल बंगलादेशसँग आठ विकेटले पराजित भएको थियो । सन् २०१९ मा त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले जिम्बावे र सिंगापुरसँग खेल्यो । सो सिरिजमा नेपालले दुईपटक जिम्बावेविरुद्ध भिडेको थियो । जिम्बावेले पहिलो खेलमा नेपाललाई पाँच विकेट तथा दोस्रो खेलमा ४० रनले हराएको थियो ।
सन् २०१९ मै ओमानमा पेन्टागुलर टी–२० आई सिरिज भएको थियो । यस सिरिजमा आयरल्यान्डले पनि भाग लिएको थियो । आयरल्यान्डसँगको पहिलो भेटमै नेपाल १३ रनले पराजित भयो । सन् २०२२ मा ओमानमै आइसिसीको आयोजनामा क्वाड्रानगुलर टी–२० आई सिरिज भयो, जसमा आयरल्यान्ड पनि सहभागी थियो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आयरल्यान्डसँग केवल १६ रनले निराश भयो ।
आयरल्यान्डविरुद्धको खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले अलराउन्डर प्रदर्शन गरेका थिए । उनले ब्याटिङमा २८ रन बनाउनुका साथै बलिङमा चार विकेट लिए । फिल्डिङ क्रममा उनले दुई क्याचसमेत हात पारे ।
सन् २०२३ मा चीनको हाङझाउमा भएको १९औँ एसियन खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो । नेपालको पूरै राष्ट्रिय टोली भए पनि भारतले ‘ए’ टोली एसियाडमा पठाएको थियो । अझ भारतीय टोलीमा इन्डियन प्रिमियर लिगमा चलेका खेलाडी थिए । भारतसँग नेपाल २३ रनले हारेको थियो । सो खेलमा भारतका लागि यशस्वी जैसवालले शतक प्रहार गरेका थिए ।
गत वर्ष वेस्ट इन्डिज र अमेरिकाले आयोजना गरेको टी–२० विश्वकपमा नेपालले आफ्नो समूहमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेलेको थियो । नेपालले दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट बलिङ गरेको थियो । दक्षिण अफ्रिका एक सय १५ रनमा समेटिएको थियो । नेपालले सबै विकेट गुमाएर एक सय १४ रन मात्र बनाउँदा दक्षिण अफ्रिका एक रनले विजयी भयो । सो खेलमा नेपालका गुल्सन झा रनआउट भएका थिए ।
सोही समूहमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्यो । नेपाल र बंगलादेशबिच १० वर्षपछि भिडन्त भएको थियो । यसै खेलमा सन्दीप लामिछानेले टी–२० आईमा सय विकेट पूरा गरे । नेपालले पुनः एकपटक टेस्ट राष्ट्रविरुद्ध धारिलो बलिङ गर्दै बंगलादेशलाई एक सय ६ रनमा सीमित बनाएको थियो । सहज एक सय सात रनको लक्ष्य पछ्याएको नेपाल २१ रनले पराजित भयो ।