सुदूरपश्चिमको पहाडमा रामलीला

सवा एक करोड जनसंख्या भएको उत्तराखण्डको दसहरा र सुदूरपश्चिमको दसैँ एकआपसमा मिल्दोजुल्दो छ

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण

सुदूरपश्चिमको आफ्नै विभिन्न मौलिक पर्व छन् । देशको पश्चिमी किनारामा रहेको यो क्षेत्रका चाडपर्वहरू मौलिक नेपाली संस्कृतिभन्दा भारत उत्तराखण्डसँग बढी मेल खान्छन् । मध्यकालीन डोटी राज्यको दबदबाका कारण सुदूरपश्चिमका पर्वहरू सवा करोड जनसंख्या भएको उत्तराखण्डको कुमाउ, गढवालसँग बढी मेल खान्छ । अझ हिमाञ्चलको कुल्लु, मनाली, सिमलासम्म फैलिएका छन् । 

यतिखेर नेपालीहरूको महान् पर्व दसैँको रमझम नेपाली बस्तीहरूसम्म फैलिएको छ । एकआपसमा खुसियाली साटफेर गर्ने, मिठोमसिनो खाने, नयाँ लुगा लगाउने, आफन्तसँग जमघट हुने पर्वको रूपमा दसैँलाई लिने गरिन्छ । टीका, जमरा लगाउने र आशिर्वाद थाप्ने पर्वको रूपमा दसैँ मनाइँदै गर्दा सुदूरपश्चिमको दसैँमा भने केही भिन्न दृश्य देख्न पाइन्छ ।

सुदूरपश्चिममा दसैँ नमनाउने गाउँ पनि थुप्रै छन् । यहाँ गौरा, विशुजस्ता पर्व प्राथमिकतामा पर्छन् । चलनचल्तीको तडक–भडकवाला दसैँभन्दा सुदूरपश्चिममा आफ्नै खालको मौलिक दसैँ मनाइन्छ । सुदूरपश्चिमको दसैँ वैदिक संस्कृति र संस्कारमा आधारित छ । यहाँको दसैँलाई पूजाप्रधान दसैँको रूपमा लिइन्छ । यसको मुख्य आधार कैलाश मानसरोवर र यहाँबाट बग्ने दुई नदीमा आधारित सभ्यता रहेको जानकारहरू बताउँछन् । 

महाकाली र कर्णालीको मुहान कैलाश मानसरोवर हो । यी दुवै नदी भिन्नाभिन्नै भूगोलबाट बग्दै गएर अन्ततः गंगा नदीमा मिल्छन् । यी दुवै नदीको बिचको क्षेत्र नै सुदूरपश्चिम हो । पूर्व सिँजा सभ्यता बोकेको क्षेत्र कर्णाली प्रदेश र महाकालीको पश्चिममा भारतको कुमाउ उत्तराखण्ड पर्छ । यी दुई नदीको जलाधार क्षेत्रलाई सांस्कृतिक अगुवाहरू मानसखण्ड भन्ने गर्दछन् ।

मानसखण्ड क्षेत्रका धार्मिक तथा सांस्कृतिक अभियन्ता आचार्य घनश्याम लेखकका अनुसार काली र कर्णालीबिचको मानसखण्ड क्षेत्रलाई कैलाश मानसरोवरको आँगन मान्ने गरिन्छ । यो क्षेत्र देवी भगवतीको मूल स्थल हो । यहाँको मुख्य पर्व गौरा भए पनि नेपालको महान् पर्व दसैँ मनाउने तरिका पनि मौलिक छ । ‘मानसरोवर अहिले तिब्बत(चीन)मा भए पनि कुनै समय शक्तिशाली डोटी र सिँजा राज्यको भूभागमा पथ्र्यो । त्यसैले यो भूमि मानसरोवरको आँगन हो ।’ आचार्य लेखक भन्छन् ।

चलनअनुसार बैतडी त्रिपुरासुन्दरी मन्दिरका मुखिया हिम्मत चन्द घटस्थापनाको दिन मन्दिरमा जमरा राख्ने र नवमीसम्म माछामासु नखाई शुद्ध शाकाहारीको रूपमा व्रत बस्ने गरेको बताउँछन् । ‘घटस्थापनाका दिन दे–नोला(देवताको कुवा)बाट शुद्ध जल ल्याउने र रातो माटोले मन्दिर पोत्ने काम हुन्छ । मन्दिरमा विधिवत् रूपमा जमरा छर्ने गरिन्छ,’ चन्द भन्छन्,‘नौ दिनसम्म नवरात्रि बस्ने(नौरतिया)हरूले कपाल मुण्डन गरी धोतीकुर्ता लगाएर दिनमा एक छाक शुद्ध शाकाहारी भोजन गरेर बस्नुपर्छ ।’ त्यसपछि दसैँसम्म घरबाट पोखल (चामलसहितको पूजा सामग्री) ल्याउने, मन्दिरमा स्थानीय बाजा बजाउने, हुलोचौलौ (बाजा बजाएर हल्ला गर्दै मन्दिर परिक्रमा) गर्ने, जागर (राति गाइने संगीत) गाउने काम हुने उनको भनाइ छ ।

चन्दका अनुसार त्रिपुरासुन्दरीमा पञ्चमीको दिन अरू दिनभन्दा छिटो पूजा सुरु हुन्छ । त्यसपछि मूल पुजारीले नजिकैको कैलपाल मन्दिरमा पूजा सम्पन्न गर्छन् । पञ्चमीको दिन स्थानीय रियासी टोलबाट राति मन्दिरमा स्थानीय बाजागाजासहित जात्रा र हुलोचौलो जान्छ । अष्टमीको दिन जमरा काटिन्छ । त्यसै दिन मन्दिरको अटक(मन्दिरको कोष)बाट राँगा र बोका किनेर बली दिइन्छ । चल्तीको रीतअनुसार बोकाको मासु प्रसादको रूपमा गाउँघरमा बाँड्ने गरिन्छ । 

आचार्य लेखकका अनुसार अधिकांश ठाउँमा अष्टमीमा दसैँ पूर्ण हुन्छ । तर, त्रिपुरासुन्दरीमा दसैँसम्म पूजा लाग्छ । दसैँको दिन जमरा र टीका थापेर सम्पन्न हुन्छ । पछिल्लो समय घरघरमै टीका र जमरा थाप्ने चलन सुरु भए पनि यहाँको मौलिक संस्कृतिअनुसार मन्दिरको पुजारी वा गाउँको मुख्य व्यक्तिबाट टीका र जमरा लगाउने गरिन्छ । ‘भगवती मन्दिरमा मात्र होइन, शिव मन्दिरमा पनि जमरा राख्ने गरिन्छ । जहाँ जुन देवी–देवताहरू छन् त्यहीँ जमरा राख्ने र दशमीको दिन गाउँभरि जमरा, टीका लगाउने पुरानो चलन हो,’ लेखक भन्छन् । 

आमाबुबा वा घरको जेठो सदस्यबाट टीका, जमरा लगाउने चलन सुदूरपश्चिमको रैथाने चलन होइन । ‘दसैँमा मन्दिरको पुजारीबाट जमरा र टीका लगाउने चलन सुदूरपश्चिमको मौलिक चलन हो, जमरामा मन्दिरको दैवीय शक्ति प्राप्त हुन्छ भन्ने मान्यता छ,’ लेखक भन्छन् । सबैले मन्दिरमा जान सम्भव नभए घरको जुन सदस्यले मन्दिरमा टीका लगाउँछ, उसैले बोकेर ल्याउँछ र परिवारलाई लगाइदिन्छ । 

बलिप्रथा सुदूरपश्चिमको दसैँसँगै जोडिएर आउँछ । दसैँको अवसर पारेर भगवती मन्दिरमा हजारौँ पशुबली दिइन्छ । घटस्थापनादेखि शुद्ध शाकाहारी बसेका व्रतालु आठ दिनसम्म मन्दिरमा पूजाआजा गर्छन् । अष्टमी, नवमी र दशमीमा भने त्यही मन्दिरमा पशुबली सुरु हुन्छ । भगवती मन्दिरहरूमा प्रायः राँगा र बोकाको बली दिइन्छ । हरेक गाउँ, टोलमा बोकाको बली हुने गर्दछ । पशुवली दिँदा मनोकांक्षा पूरा हुने र देवी, देवता खुसी हुने मान्यता छ । 

 सीमा वारिपारिको एउटै संस्कृति 
सुदूरपश्चिममा दसैँ मनाउने चलन भारतको उत्तराखण्डसँग मिल्छ । सवा एक करोड जनसंख्या भएको उत्तराखण्डको दसहरा र सुदूरपश्चिमको दसैँ एकआपसमा मिल्दोजुल्दो छ । सीमा वारिपारि साझा संस्कृति र साझा परम्परा छ । सुदूरपश्चिमका विभिन्न शक्तिपीठहरूमा लाग्ने मेला, जात्राका लागि उत्तराखण्डका विभिन्न क्षेत्रबाट भक्तजन आउने गर्दछन् । नेपाल–भारत सीमाभन्दा ४० किलोमिटर पश्चिममा रहेको पिथौरागढका नारायण सोराडी लोक सांस्कृतिक गायक हुन् । दसैँका लागि उनी सधैँ त्रिपुरासुन्दरीमा पुजाआजाका लागि आउने गर्छन् ।

दसैँलाई सीमापारि भारतमा दसहरा भन्ने गरिन्छ । दसहरामा टीका र जमरा लगाउने चलन भने कम छ । कतिपय दसैँको जमरा लगाउन नेपालतर्फ आउने गर्दछन् । झुलाघाट नाका भएर हजारौँ भारतीय नागरिक दसैँलगायतका नेपाली पर्वहरूमा सहभागी हुन त्रिपुरासुन्दरी आउने गरेको स्थानीय बासिन्दा तथा दशरथचन्द नगरपालिकाका पूर्वमेयर नरेन्द्र थापा बताउँछन् । 

दशमीको दिन असत्यमाथि सत्यको विजय भन्दै रावणको पुतला दहन गर्ने चलन उत्तराखण्डमा प्रचलित रहेको भारतीय नागरिक सोराडी बताउँछन् । यता सुदूरपश्चिमका प्रायः मानिसहरू धार्मिक कार्यका लागि गंगानदीसम्म पुग्छन् । जुन उत्तराखण्ड भएर बग्दछ । नेपालका प्रसिद्ध धार्मिकस्थलहरूमा तीर्थाटन गर्नैपर्ने अनिवार्य नियम छैन।

 सुदूरपश्चिमेलीहरूलाई । तर, गंगानदीको उद्गम देवप्रयागदेखि बनारससम्मका हरेक तीर्थमा प्रायः हरेकले पुग्नैपर्छ । आचार्य घनश्याम लेखक गंगोत्री, देवप्रयाग, ऋषिकेश, हरिद्वार, काशीबनारस र प्रयागराजसम्म जीवनमा एकपटक जानैपर्ने निमय सुदूरपश्चिममा रहेको बताउँछन् ।

 बुलाकीराम र रामलीला 
सुदूरपश्चिममा जब दसैँ आउँछ, सँगै रामलीलाको तयारी पनि सुरु हुन्छ । सुदूरपश्चिमका कैयौँ ठाउँमा भगवान् रामको चरित्रमा आधारित रामलीला महायज्ञको आयोजना गरिन्छ । यहाँको रामलीला मञ्चन शास्त्रीय संगीतमा आधारित हुन्छ । जसमा दसौँ हजार मानिस सहभागी हुन्छन् । 

यो क्षेत्रमा रामलीलाको सुरुवात करिब एक शताब्दीअगाडि भारतीय पण्डित बुलाकीरामले गरेका थिए । शास्त्रीय संगीतमा भारतका प्रसिद्ध विद्वान् ओमकारनाथ ठाकुरका शिष्य बुलाकीरामले भारतको कुमाउ, गढवाल, देहरादुन, पिथौरागढ हुँदै बैतडीको पिपलकोट, नकतडी, गोकुलेश्वरलगायतका ठाउँमा रामलीलाको अभ्यास गराएको अगुवाहरू बताउँछन् ।

विगत साढे तीन दसकदेखि रामलीलाका अगुवाइ गरिरहनुभएका सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डा. भूपेन्द्र विष्टका अनुसार बुलाकीरामबाट अघिल्लो पुस्ताले रामलीला र यसमा गाइने संगीतको ज्ञान हासिल गरेको थियो । वर्षौँसम्म रामलीलाको अभ्यास हुँदै जाँदा सुदूरपश्चिमका विभिन्न ठाउँमा रामलीला फैलियो । 

प्रसिद्ध गलज संगीतकार तिलकसिंह पेला आफू रामलीलाको प्रभावले सांगीतिक क्षेत्रमा आइपुगेको बताउँछन् । ‘रामलीलामा शास्त्रीय संगीतको माहोल हुन्छ, बैतडी, दार्चुला, महेन्द्रनगरमा रामलीलाको सांगीतिक माहोलले मलाई संगीतमा लाग्न प्रेरित गरेको हो,’ उनी भन्छन् ।

उता उत्तराखण्डका हजारौँ गाउँमा अहिले दसहरा (दसैँ)को मौका पारेर राललीला मञ्चन हुन्छ । विगत दुई दसकदेखि रामलीलाको अगुवाइ गरिरहनुभएका उत्तराखण्ड पिथौरागढका विप्लव भट्ट ‘बुराइ पर अच्छाइ कि जितका प्रतीक’ (असत्य माथि सत्यको विजय)का रूपमा हरेक वर्ष रामलीला मञ्चन हुने बताउँछन् । यो वर्ष उत्तराखण्डको राजधानी देहरादुनमा ७० फिटको रावणको पुत्ला दहन हुने बताइएको छ ।
 

सुझावित समाचार