शनिबार पाेखरामा पर्वतीय दौड, सात देशका १६० धावकले प्रतिस्पर्धा गर्ने

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

पोखराका महत्त्वपूर्ण तीन धार्मिक पर्यटकीय स्थललाई खेल पर्यटनका माध्यमबाट जोड्ने उद्देश्यले २७ सेप्टेम्बर अर्थात् विश्व पर्यटन दिवसको अवसर पारेर शनिबार पोखरामा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगितामा सात देशका १६० धावकले प्रतिस्पर्धा गर्ने भएका छन्।

पोखरा महानगरपालिका– २२ स्थित तीन धार्मिक पर्यटकीय स्थलहरू पुम्दी–भुम्दीमा रहेको विश्व शान्ति स्तुपा, पुम्दीकोटस्थित विशाल महादेव मूर्ति एवं निगाले डाँडास्थित बुद्धपार्कलाई खेल पर्यटनका माध्यमबाट जोड्ने उद्देश्यसहित पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिक प्रालिले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेका हुन्।

शनिबार हुने दौडमा नेपालसहित बेलायत, नर्वे, इजरायल, फ्रान्स, अमेरिका र स्पेनका धावकले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए। विश्वशान्ति स्तुपाबाट सुरु हुने दौड पुम्दीकोटको महादेवको मूर्ति परिक्रमा गरी पोखरा– २२ को कार्यालय हुँदै बुद्धपार्कमा पुगेर समापन हुनेछ। दौडको दूरी आठ किलोमिटर छ।

दौडको पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणको पुरस्कार राशि दोब्बर बनाइएको छ। जसअनुसार खुलातर्फ प्रथम हुने धावकले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार, चौथोले सात हजार, पाँचौँले तीन हजार र छैटौँदेखि १०औँ स्थान हात पार्नेले जनही एक हजार नगद पाउनेछन्।

वडास्तरीय खुला, महिला र यू–१६ तर्फका विजेताले जनही १५ हजार र उपविजेताले सात हजार पाउनेछन्। यस वर्ष ४० वर्षमाथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरेको संयोजक बरालले जानकारी दिए। भेट्रान र विदेशीतर्फका विजेताले जनही १५ हजार नगद प्रोत्साहन पुरस्कार पाउने भएका हुन्। 

बरालका अनुसार पहिलो संस्करणमा ६ धावकलाई पुरस्कृत गरिएकोमा यस वर्ष पुरस्कार राशि दोब्बरसँगै १८ जना धावकहरू पुरस्कृत हुनेछन्।

सुझावित समाचार