नेपाल यू–१७ साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । श्रीलंकाको कोलम्बोमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा नेपाल भारतसँग ३–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । भारतले अब उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेशले पहिलो सेमिफाइनलमा पाकिस्तानलाई २–० ले हराएको थियो ।
सर्वाधिक ६ पटकको विजेता भारतलाई नेपालले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । तर, मध्यान्तरपछि नेपाली युवा खेलाडीले त्यही प्रदर्शन कायम राख्न सकेनन्। नेपालले दोस्रो हाफमा एकपछि अर्को गल्ती गर्दा नै भारत हाबी भएको थियो । भारतले यसैको फाइदामा तीन गोल गर्यो । समूह ‘ए’को उपविजेता बनेको नेपालले फाइनल प्रवेशका लागि समूह ‘बी’को विजेता भारतसँग प्रतिस्पर्धा गरेको हो ।
भारतका लागि गुनलेइबा वाङखेरियाक्पाम, अजलान शाह र डायमन्ड सिंह थोकचोमले समान एक गोल गरेका थिए । भारतले नेपालमाथि दबाब बनाएको थियो । खेलको ३८औँ मिनेटमा प्रतिश थापामगरले पोस्टभन्दा २२ यार्ड टाढाबाट प्रहार गरेको बललाई भारतीय गोलरक्षक मानस ज्योति बरुहाले बचाए । खेलको ६१औँ मिनेटमा भारतले गुनलेइबाको गोलमा अग्रता लियो ।
खेलको ८०औँ मिनेटमा नेपालले काउन्टर आक्रमणमा गोल खायो । अजलान साहले डिबक्सभित्रबाट सहजै गोल गरे । इन्जुरी समयको अन्तिम सेकेन्डमा भारतले तेस्रो गोल थप्यो । दोस्रो हाफमा मैदानभित्र प्रवेश गरेका थोकचोमले ३–० का लागि गाल गरे । समूह ‘ए’मा नेपालले पहिलो खेलमा श्रीलंकालाई २–० ले हराएको थियो । नेपाल दोस्रो खेलमा बंगलादेशसँग ४–० ले पराजित भयो । बंगलादेशले समूह चरणमा श्रीलंकालाई ४–० ले पराजित गरेको थियो ।