भारत र पाकिस्तानका क्रिकेट बोर्डले दिए आइसिसीमा उजुरी

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानका खेलाडीबिचको द्वन्द्व अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)सम्म पुगेको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) र पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले बिहीबार आइसिसीमा एक–अर्का खेलाडीविरुद्ध खेल भावनाविपरीत कार्य गरेको आरोप लगाएका छन् । पिसिबीले भारतीय कप्तान सूर्यकुमार यादवले मैदानमा राजनीतिक टिप्पणी दिएको दाबी गरेको छ । 

बिसिसिआईले भने पाकिस्तानका ह्यारिस रौफ र साहिबजादा फरहानले सुपर फोर खेलमा अनावश्यक हाउभाउ देखाएको आरोप लगाएको छ । विश्व क्रिकेटकै प्रमुख दुई क्रिकेट बोर्डले आ–आफ्ना खेलाडीको बचाउ र एक–अर्काविरुद्ध आरोपसहित उजुरी आइसिसीमा राख्दा दुई देशबिचको खेल सम्बन्ध बिग्रेको एजेन्सीले जनाएको छ । एसिया कपमा भारत र पाकिस्तानले समूह चरणमा प्रतिस्पर्धा गरेका थिए । सो खेलमा भारत विजयी भएको थियो । भारतका कप्तान सूर्यकुमारले पहलगाम आतंककारी हमलाका पीडित परिवारप्रति जित समर्पित गरेका थिए । पाकिस्तानी खेलाडीले सूर्यकुमारको टिप्पणीलाई राजनीतिक भनेका छन् । 

अर्कोतर्फ पाकिस्तानका खेलाडीले अर्धशतकीय इनिङ्स खेलेपछि फरक रूपमा खुसी मनाए । उनीहरूले भारतीय डे«सिङ रुमतर्फ इंगित गर्दै निसाना लगाएका थिए । पहिलो खेल तथा सुपर फोरमा भारत र पाकिस्तानबिचको खेल तनावपूर्ण भएको थियो । पाकिस्तानका तीव्र गतिका बलर साहिन साह अफ्रिदी र रौफ तथा भारतका ओपनर अभिषेक शर्मा र शुभमन गिलबिच भनाभन भएको थियो । सुपर फोरको खेलमा दुवैका खेलाडीबिच पटक–पटक चर्काचर्की भएको थियो । 

द इन्डियन एक्सप्रेसले बिसिसिआईले पाकिस्तानका दुई प्रमुख खेलाडीमाथि कारबाही हुनुपर्ने मागसहित आइसिसीमा उजुरी गरेको उल्लेख गरेको छ । ‘बिसिसिआईले विपक्षीका दुई खेलाडीलाई कडा कारबाही हुनुपर्ने उजुरी दिएको छ,’ द इन्डियन एक्सप्रेसले भन्यो, ‘मैदानमा उनीहरूको व्यवहार आमखेलाडीको जस्तै थिएन ।’

दुवै खेल तनावपूर्ण
एसियन क्रिकेट परिषद् (एसिसी)ले एसिया कपको ड्र निकाल्दा क्रिकेटका दुई कट्टर विपक्षी भारत र पाकिस्तान एकै समूहमा परेका थिए । यी दुई राष्ट्रबिचको खेल सधैँ रोमाञ्चक र तनावपूर्ण हुने गर्छ । यसपटक मैदानमा रोमाञ्चक खेलभन्दा पनि खेलाडीले आपसी दुस्मनी निकाले । समूह चरणमा प्रतिस्पर्धा गर्नुअघि भएको टसमा दुवै टोलीका कप्तानले हात मिलाएनन् । झगडाको बिउ यहीँबाट सुरु भएको थियो । साथसाथै खेल सकेपछि खेलाडीले एक–अर्कालाई अभिवादन पनि गरेनन् । 
इलिट प्यानलले छानबिन गर्ने 

आइसिसीले यस विषयमा छिट्टै छानबिन कमिटी गठन गर्नेछ । बिसिसिआई र पिसिबीका उजुरीमाथि आइसिसीको इलिट प्यानलका रेफ्री रिची रिचड्र्सनले छानबिन गर्ने एजेन्सीले जनाएको छ । रिचड्र्सनले अहिलेसम्म भएका घटनाको सबै फुटेज तथा खेलाडीको अनुसन्धान गर्नेछन् । उनले घटनाको प्रतिवेदन आइसिसीको बोर्डमा पठाउनेछन् । 

सुझावित समाचार