नवीन न्यौपाने बने महिला टिमको मुख्य प्रशिक्षक

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

नवीन न्यौपाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक बनेका छन् । 

बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले न्यौपानेलाई मुख्य प्रशिक्षककाे जिम्मेवारी दिएको हो । पूर्वराष्ट्रिय फुटबल खेलाडी न्यौपानेले यसअघि नेपालको यू–२३ पुरुष तथा पुरुष सिनियर टिमको अन्तरिम प्रशिक्षकको रूपमा काम गरिसकेका छन् । 

न्यौपानेले पहिलोपटक महिला टिम हेर्दै छन् । यसअघि विवादास्पद बेल्जियमका प्रशिक्षक प्याट्रिक डी वाइल्डले राजीनामा दिएपछि न्यौपानेले जिम्मेवारी पाएका हुन् । 

महिला टिमले आधारभूत सुविधा नपाएको भन्दै असतुष्टि जनाएका प्याट्रिकले बेल्जियम नै पुगेर राजीनामा दिएका थिए । उनी एक वर्षका लागि नेपाली टिमसँग जोडिए पनि समयअघि नै राजीनामा दिएका हुन् । उनी नेपालमा रहँदा भने महिला टिमको कप्तानी विशेषलाई मुख्य मुद्दा बनाएर विवादमा रहे । उनले नियमित कप्तान अञ्जिला तुम्बाप्पो सुब्बालाई एएफसी एसियन कप छनोटका तीनै खेलमा खेलाएनन् । सावित्रा भण्डारीलाई कप्तान बनाएका थिए । 

यस्तै, एन्फाले सहायक प्रशिक्षकमा भगवती थापा र राजकुमार केसीलाई जिम्मेवारी दिएको छ । व्यवस्थापकमा वृन्दा देवान, फिजियोथेरापिस्टमा शिला गिरी तथा किट म्यानेजरमा विकास गुरुङ यथावत् रहेका छन् । सबैजनालाई एन्फा महासचिव किरण राईले नियुक्ति पत्र दिए ।  नेपालले आगामी दिनमा भारत र इन्डोनेसियासँग फरक–फरक प्रतियोगिता खेल्दै छ ।

सुझावित समाचार