नेपालले साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा बिहीबार बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दै छ । श्रीलंकाको कोलम्बोमा आयोजना भइरहेको च्याम्पियनसिपमा नेपालको रणनीति भारतलाई स्तब्ध पार्दै पाँचौँपटक फाइनल स्थान बनाउने हुनेछ । भारत भने सातौँपटक उपाधि जित्ने लक्ष्यका साथ नेपालको सबै प्रयास विफल पार्ने तयारीमा देखिन्छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजना भइरहेको प्रतियोगितामा भारत सर्वाधिक ६ पटकको विजेता हो ।
यसअघि भारत र नेपालबिच चारपटक फाइनल भएको थियो । जसमा भारतले नेपाललाई सबैमा निराश बनाएको थियो । सन् २०११ बाट सुरु भएको प्रतियोगिता नौपटक आयोजना भइसक्दा नेपाल सर्वाधिक चारपटकको उपविजेता टोली हो । नेपाल २०१३, २०१७, २०१९ र २०२२ मा भएका सबै फाइनलमा भारतसँगै पराजित भएको थियो ।
नेपालको तुलनामा भारत बलियो टोली हो । नेपालले प्रतियोगिताका लागि डेढ महिना प्रशिक्षण गरेको थियो । भारतले भने उमेर समूहमा राम्रो लगानी गर्दै खेलाडीलाई नियमित प्रशिक्षणमा राखेको छ । यद्यपि, नेपाली खेलाडी भारतविरुद्ध अप्रत्याशित नतिजा निकाल्ने दाउमा छन् । नेपालका मुख्य प्रशिक्षक सञ्जित सिंहले भारतसँगको सेमिफाइनल प्रतिस्पर्धाका लागि आफूहरू तयार रहेको बताए । यू–१६ टोलीबाट खेलिसकेका गोलरक्षकद्वय पेम्बा नुर्बु भोटे, विशेष बानियाँ, डिफेन्डर प्रशान्त मोक्तान र भुवन कामीसँगै मिडफिल्डर राम थामी र सुजन स्याङ्तान अनुभवी खेलाडी हुन् । यू–१६ लिगमा उत्कृष्ट प्रदर्शन गरेका समीर कुमारको लयले टोलीलाई हौसला बढेको छ ।
यता, भारतीय खेलाडी लगातार एकै सेट टोलीमा छ । उनीहरूको उमेर समूहमा कुनै पनि खेलाडी परिवर्तन छैनन् । नियमित एकैसाथ प्रशिक्षणमा रहँदा भारतका खेलाडीले एकआपसका कमीकमजोरी औँल्याउँदै प्रतिस्पर्धा गर्छन् । उनीहरू मैदानमा प्रशिक्षकको खेल योजनाअनुसार विपक्षीविरुद्ध खेल्छन् । यसकारण चालू प्रतियोगितामा भारतीय टोलीबिचको तालमेल राम्रो छ । भारतीय खेलाडी शारीरिक तथा प्राविधिक र रणनीतिक रूपमा पनि निकै सफल छ ।
उपविजेताका रूपमा नेपाल सेमिफाइनलमा
समूह ‘ए’मा नेपाल उपविजेता र भारत समूह ‘बी’को विजेता हो । समूह ‘ए’मा दुवै खेल जितेको बंगलादेश विजेता बन्यो । समूह ‘बी’मा पाकिस्तान उपविजेता हो । समूह ‘ए’को अन्तिम खेलमा बंगलादेशले श्रीलंकामाथि जित निकालेका कारण नेपालले अन्तिम चारको स्थान पक्का गरेको थियो । साफले आयोजना गरेको प्रतियोगितामा दक्षिण एसियाका सातै देश पहिलोपटक सहभागिता भएका हुन् ।
यसअघि साफले आयोजना गर्ने उमेर समूहमा पाकिस्तान, माल्दिभ्स, श्रीलंका र भुटानले नियमित सहभागिता जनाएका थिएनन् । समूह ‘ए’मा श्रीलंकालाई पहिलो खेलमा २–० ले हराएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ४–० ले पराजित भएको थियो । यो हारपछि नेपालको सेमिफाइनल सम्भावना संकटमा पर्यो । बंगलादेशले अन्तिम खेलमा जित निकालेपछि नेपालको भाग्य खुलेको हो ।
सोमबार आफ्नो निर्णायक खेलमा भारतले पाकिस्तानलाई ३–२ ले हराउँदै समूह ‘बी’को विजेता बनेको हो । पाकिस्तानका स्ट्राइकर अब्दुल्लाहले सर्वाधिक ६ गोल गरेका छन् । पाकिस्तानले पहिलो खेलमा भुटानलाई ४–० ले हराउँदा माल्दिभ्सविरुद्ध ५–२ को फराकिलो जित निकालेको थियो । भारतले आफ्नो पहिलो खेलमा माल्दिभ्समाथि ६–०, दोस्रो खेलमा भुटानलाई १–० ले पराजित गरेको हो ।
भारतविरुद्ध बल पोसेसन बलियो राख्छौँ
सञ्जित सिंह, प्रशिक्षक, नेपाल
भारतसँगको सेमिफाइनलमा दुई खेलाडी परिवर्तन हुने सम्भावना छ । टोलीमा केही खेलाडी चोटग्रस्त छन् । अवस्था हेरेर खेलाडी परिवर्तन हुनेछ । अवश्य पनि भारत बलियो प्रतिद्वन्द्वी हो, तर उनीहरूविरुद्ध उत्कृष्ट प्रदर्शन गछौँ । भुटानले जसरी भारतसँगको प्रतिस्पर्धामा रणनीति अपनाएको थियो । हामी पनि त्यही योजनाअनुसार खेल्छौँ । नेपालको पहिलो योजना भनेको धेरै बल पोसेसन बनाउने हो । त्यसपछि बिस्तारै भारतमाथि दबाब राखेर एट्याकिङ खेल्छौँ । सुरुमा टिम सेट हुनुपर्छ । त्यसमा पनि ध्यान दिनुपर्छ । हामीले बंगलादेशसँगको कमजोरी औँल्याएका छौँ । जुन भारतसँगको खेलमा हुँदैन । फुटबल हो, यसमा जसले गोल गर्छ, जित उसैको हुन्छ । यसकारण जितप्रति आशावादी छौँ । सेमिफाइनलमा टिकेर खेल्ने हो ।
हाम्रो रणनीति एट्याकिङ हुनेछ
प्रशान्त मोक्तान, कप्तान, नेपाल
भारतसँगको सेमिफाइनल खेल टफ हुन्छ जस्तो लाग्छ । यद्यपि, हामीभन्दा भारत बलियो टोली हो । मानसिक रूपमा फाइनलमा जसरी पनि पुग्छौँ भन्ने उद्देश्यका साथ प्रतिस्पर्धा गछौँ । हाम्रा केही खेलाडी घाइते छन् । तर, सोचेजस्तो त्यति गम्भीर छैन । भारतसँगको खेलमा घाइते खेलाडी पनि मैदानमा उत्रन सक्छन् । उनीहरू भारतसँग खेल्न आतुर छन् । अहिले सुरुवात ११ खेलाडीमा त्यस्तो खासै समस्या छैन । मैदानमा शतप्रतिशत दिने हो । भारत भन्दैमा दबाब लिएर खेल्नुहुँदैन । सबै खेलाडी फिटजस्तै छन् । एट्याकिङ र आत्मविश्वासका साथ खेल्ने हो । प्रशिक्षकको योजनामा खेल्छौँ ।
