सहिद स्मारक ‘बी’ डिभिजन लिग समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा सुजन स्मृति सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। बुधबार आयोजकले प्रतियोगिताको १६औं संस्करण असोज २७ देखि कात्तिक २ गतेसम्म हुने जानकारी गरायो।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागिताका लागि ८ हजार रुपैयाँ तिरेर असोज २५ गतेसम्म टिम दर्ता गर्न सकिने आयोजक कमिटीका कविन्द्र मल्लले जानकारी गराएका छन्।
सोह्रखुट्टेको नयाँ बजार टाउन प्लानिङस्थित क्लबको मैदानमा हुने प्रतियोगिताका उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र अनुशासित टोलीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक कमिटीका अनिल चौधरीले जनाए।
समाज कल्याणले आफ्ना पूर्वखेलाडी सुमन गिरीको सम्झनामा २०६३ सालदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ। कोभिड महामारीका कारण दुई वर्ष भने प्रतियोगिता रोकिएको थियो।