प्रेरक प्रसंग : सुकरात र उनकी पत्नी

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

सुकरात ग्रिसका महान् विचारक र दार्शनिक थिए । उनी सडकमा जहाँ उभिन्थे, त्यहाँ मानिसले उनलाई घेरेर विभिन्न प्रकारका प्रश्न सोध्ने गर्थे । कहिलेकाहीँ त मानिसहरू छेउ न टुप्पोका प्रश्न पनि सोधेर उनलाई हैरान पार्ने गर्थे । तर, सुकरात यस्ता सबै प्रश्न ध्यान दिएर सुन्थे र बडो शान्त भावले उनीहरूका सम्पूर्ण प्रश्नको जवाफ दिन्थे ।

मानिसद्वारा घेरिइरहने भएकाले सुकरात धेरै समयसम्म घरबाहिर रहन्थे । यसले गर्दा उनकी पत्नी धेरै रिसाउने गर्थिन् । त्यसै पनि उनी बडो कठोर स्वभाव भएकी स्त्री थिइन् । उनी विनाकारण नै सुकरातसँग अनेक बहाना झिकेर झगडा गरिरहन्थिन् । सुकरात बडो शान्त भावले उनका कुरा सुनिरहन्थे । तर, कुनै प्रतिवाद गर्दैनथे । 

एकपटक सुकरातकी पत्नी उनीसित कुनै बहानामा चर्को रिस देखाइरहेकी थिइन् । उनी ठुल्ठुलो स्वरमा सुकरातलाई गाली गरिरहेकी थिइन् । तर, सुकरात एक शब्द नबोली उनको गाली सुनिरहेका थिए । लामो समयसम्म पनि उनकी पत्नीले बोल्न नछाडेपछि सुकरात चुपचाप बाहिर जान लागे ।

यो देखेर उनकी पत्नीको रिसको पारो झनै बढ्यो । छेउमा फोहोर पानीले भरिएको बाल्टिन राखिएको थियो । क्रोधले तिर्मिराउँदै उनले त्यो सबै फोहोर पानी सुकरातको शरीरमा खन्याइदिइन् । उनी शिरदेखि पाउसम्म भिजे । उनको कपडा पनि फोहोर भयो । तैपनि, उनी शान्त भएर बसे, जस्तो कि केही भएकै छैन । केही क्षणपछि मुस्कुराउँदै शान्त भावमा सुकरातले भने, ‘यति ठुलो गर्जनपछि आखिर वर्षा त हुनु नै थियो, होइन र ?’

सुझावित समाचार