नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले साबिक विजेता वेस्टर्न वन्डर वुमनको पनि कप्तानी गर्ने भएकी छिन् । मलेसियन सुपर वुमन शृंखलामा यसपटक इन्दुसहित नेपालका १२ खेलाडी खेल्दै छन् । मलेसियन क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता २४ देखि ३० सेप्टेम्बरसम्म हुनेछ ।
वेस्टर्नबाट इन्दुसँगै सावित्री धामी र रचनाकुमारी चौधरीले पनि खेल्नेछन् । यो टिममा नेपालबाहेक मलेसियाका आठजना खेलाडी छन् । त्यस्तै, ओमान, रुवान्डा, सिंगापुर र थाइल्यान्डका खेलाडी रहेका छन् । यसपटक पनि टोलीले उपाधि रक्षा गर्ने योजनासहित विदेशी खेलाडी अनुबन्ध गरेको छ । प्रतियोगिताको तेस्रो संस्करणमा सेन्ट्रल सुपर गल्र्स, इस्टर्न लायनेस, नर्थन क्विन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमन सहभागी छन् ।
मलेसियाविरुद्धको पाँच टी–२० अन्तर्राष्ट्रिय शृंखलाको तयारीका लागि यो प्रतियोगिता नेपाली खेलाडीलाई फलदायी हुने अपेक्षा गरिएको छ । शृंखला मलेसियामा आगामी अक्टोबर २ देखि ८ सम्म हुनेछ । त्यसपछि नेपालले घरेलु मैदानमै विश्वकप छनोटका खेल खेल्ने तालिका छ ।
कुन खेलाडी कहाँ आबद्ध
मलेसियासँग पाँच शृंखला खेल्नुअघि नेपाली खेलाडीले मलेसियामै हुने मलेसियन सुपर वुमन सिरिज खेल्न लागेका हुन् । मलेसिया पुगेका १४ नेपालीमध्ये १२ खेलाडीले फरक पाँच क्लबबाट खेल्ने पक्का भएको छ । रुबिना क्षेत्री र कविता कुँवरको भने टुंगो लाग्न बाँकी छ । सेन्ट्रल सुपर गल्र्समा नेपालका यशोदा विष्ट, राजमती ऐरी, सीता रानामगर र रिया शर्माले खेल्ने भएका छन् । इस्टर्न लायनेसमा कविता जोशी र सम्झना खड्का आबद्ध भएका छन् । यस्तै, रुबी पोद्दारले नर्थन क्विन्सबाट खेल्दा नेपाल यू–१९ टिमकी कप्तानसमेत रहेकी पूजा महतो र सोमु विष्टले साउथर्न जागुअर्सबाट खेल्ने पक्का भएको छ ।