अदालतको अन्तरिम आदेशविपरीत व्यक्तिकाे घरमा डोजर

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

बाराको कलैया उपमहानगरपालिकाले अदालतको आदेशको अवहेलना गर्दै सडक निर्माण गर्ने बाहानामा व्यक्तिको घरमा डोजर लगाएको छ। कलैया–१ मोतिबागका शेषनन्दन साह कानुको निजी जग्गामा बनेको घरलाई अदालतको आदेशविपरीत उपमहानगरले डोजर लगाएको हो।

उपमहानगरपालिकाले बाटो नै कायम नभएको ठाँउमा मनपरि ढंगले बाटो निकाल्न खोजेपछि शेषनन्दन उच्च अदालत गएका थिए। उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगन्जले भदौ ५ मा मुद्दाको किनारा नलागेसम्म निवेदकलाई जग्गा भोग गर्न कुनै अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको छ। तर, उपमहानगरले सोमबार उक्त घर डोजर लगाएर भत्काएको हो।

आफ्नो जग्गाको छेउमा मन्दिरको पनि जग्गा भएकाले बाटो नै कायम नगरी उपमहानगरपालिकाले जबरजस्ती घर तोडेर एकतर्फी बाटो बनाउन लागेको शेषनन्दनका छोरा कुन्दन गुप्ताले बताए। अदालतको आदेशबारे जानकारी गराए पनि कर्मचारी र जनप्रतिनिधिहरुले कार्यालय बिदाको फाइदा उठाएर घर तोडफोड गरेका उनको भनाइ छ।

नगरप्रमुख बिनोद साहविरुद्धमा अदालतमा गएकाले तानशाही रुपमा उनले आफ्नो घर तोड्न लगाएको कुन्दनको आरोप छ। उनका अनुसार घरमा रहेको पसलका विभिन्न सामाग्री भए पनि तानाशाही स्वरुप सबैमा क्षति गरेको अवस्था छ । 

तर, नगरप्रमुख साह भने अदालतले दिएको आदेश घरमा राखेर उपमहानगरपालिका  कार्यालयलाई थाहा नहुने तर्क गर्छन्। अदालतको आदेशबारे जानकारी नभएको भन्दै उनले सार्वजनिक जग्गा अतिक्रमण गरेकाले उ्रक्त संरचनामा डोजर चलेको बताए।

सुझावित समाचार