बंगलादेशले घरेलु टोली श्रीलंकालाई ४–० ले पराजित गरेपछि साफ यू–१७ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंका पराजित भएसँगै दुई खेलबाट ३ अंक जोडेको नेपाल समूह ‘ए’को उपविजेताका रूपमा अन्तिम चारमा पुगेको हो । बंगलादेश शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो । यस समूहमा श्रीलंका अंकविहीन रहँदै पुछारमा रह्यो ।
अब नेपालले समूह ‘बी’को विजेताविरुद्ध फाइनल प्रवेश खेलमा आगामी बिहीबार प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा नेपालले भारत र पाकिस्तानमध्ये एउटा टोलीसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’बाट भारत र पाकिस्तान पनि अन्तिम चारमा पुगिसकेका छन् । भारत र पाकिस्तानबिच समूहको अन्तिम खेल हुनेछ । यस खेलको विजेताविरुद्ध नेपालले भिड्नेछ ।
नेपालले समूह ‘ए’को पहिलो खेलमा श्रीलंकालाई २–० ले हराएको थियो । त्यसपछि नेपाल बंगलादेशसँग ४–० ले पराजित भयो । बंगलादेशको जितमा मोहम्मद रिफत काजीले ह्याट्रिक गरेका थिए । मोहम्मद आरिफले थप एक गोल गरे । घरेलु टोली नेपाल र बंगलादेशसँग पराजित भयो ।