भियतनामविरुद्ध खेल्ने ३३ खेलाडी प्रारम्भिक छनोटमा

एसिया कप छनोटको समूह ‘एफ’मा रहेको नेपालले ९ र १४ अक्टोबरमा भियतनामको मैदानमा पहिलो र दोस्रो लेग खेल्नेछ

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणमा हुने भियतनामविरुद्धको दुई लेगका लागि नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक खेलाडी घोषणा गरेको छ । मुख्य प्रशिक्षक म्याट रसले प्रारम्भिक चरणमा ३३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । प्रशिक्षक म्याटले टोलीमा १२ खेलाडी थपेका छन् । यसै टोलीबाट अन्तिममा २३ जनाले स्थान पाउनेछन् । 

प्रारम्भिक टोलीमा अनुभवी युवा रक्षक सनिस श्रेष्ठ र मिडफिल्डर आयुष घलानले पुनरामगन गरेका छन् । यता भदौमा बंगलादेशविरुद्ध घाइते हुँदा घलान टोलीमा थिएनन् । अहिले उनी फिट छन् । घलान लिग खेल्न बंगलादेशमा छन् । मुख्य प्रशिक्षक म्याटले गोलरक्षकमा अञ्जल श्रेष्ठ, विशाल सुनार र समित श्रेष्ठ पनि समावेश गरेका छन् । डिफेन्डरमा विमल पाण्डे, सनिस र सुमित श्रेष्ठले पुनरागमन गरे । दीपेन्द्र विक दोस्रोपटक प्रारम्भिक टोलीमा अटाएका छन् । 

दुई साताअघि भएको एएफसी यू–२३ एसियन कप छनोटमा नेपालबाट प्रतिनिधित्व गरेका स्ट्राइकर नीराजन धामी, डिफेन्डर सुमित श्रेष्ठ, मिडफिल्डरहरू दीपेश गुरुङ, कृतिशरत्न छुन्जू र सन्तोष खत्री पनि बन्द प्रशिक्षणमा जोडिनेछन् । बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा टोलीमा रहेका मिडफिल्डर सृजनराज गौतम र रक्षक रन्दीप पौडल भने यसपटक टोलीमा परेनन् । 

७ असोजदेखि प्रशिक्षण सुरु
मुख्य प्रशिक्षक म्याटले छनोट भएका खेलाडीलाई मंगलबारदेखि प्रशिक्षणमा राख्ने एन्फाले जनाएको छ । छनोटअन्तर्गत समूह ‘एफ’मा रहेको नेपालले अक्टोबर ९ र १४ मा भियतनामसँग पहिलो र दोस्रो लेग खेल्ने तालिका छ । नेपालले दुई खेल खेल्दा अंक जोड्न सकेको छैन । नेपाल पहिलो खेलमा मलेसिया तथा दोस्रो खेलमा लाओससँग पराजित भएको थियो । 

१४ अक्टोबरमा दोस्रो लेग नेपालमा हुने तालिका थियो । दशरथ रंगशालामा खेल खेलाउन एन्फाले स्वीकृत मागेको थियो । तर, एसियाली फुटबल महासंघ (एएफसी)ले रंगशाला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि अयोग्य ठहर गरेको छ । त्यपछि घरेलु म्याच भियतनाममा हुने पक्का भएको थियो । तालिकाको समूहको शीर्ष स्थानमा रहने टोलीले २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९औँ संस्करणमा स्थान बनाउनेछ । भियतनामविरुद्धको पहिलो लेगमा पराजय व्यहोरे नेपालको एसियन कप पुग्ने चुनौती सकिनेछ । 

सुझावित समाचार