‘ए’ डिभिजन लिगको निर्णय दसैँपछि

एन्फाले १४ क्लबका अध्यक्ष र महासचिवलाई २६ असोजमा ‘ए’ डिभिजन लिग र युथ–१६ को विषयमा छलफल गर्न बैठक बोलायो

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)ले दसैँपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाको निर्णय गर्ने भएको छ । एन्फाले लिगमा आबद्ध १४ क्लबलाई आइतबार पत्र पठाउँदै २६ असोजका लागि बैठक डाकेको छ । एन्फाका महासचिव किरण राईले सहभागी क्लबका अध्यक्ष र महासचिवलाई दुई सातापछि बस्ने महत्वपूर्ण बैठकका लागि बोलाएका हुन् । गत ३० भदौमा एन्फाले ‘ए’ डिभिजन र युथ लिगको सम्बन्धमा बैठक बोलाएको थियो । 

एन्फाका पूर्वअध्यक्ष एवं हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा अन्य क्लबका पदाधिकारी बैठकमा उपस्थित भएका थिए । एन्फाबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधर, सहायक महासचिव बद्री भट्टराई तथा केन्द्रीय सदस्यद्वय पुरुषोत्तम थापा र विकासनारायण श्रेष्ठ उपस्थित थिए । बैठकमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई उपस्थित भएनन् । यद्यपि, शेर्पाको टोलीले अन्य पदाधिकारीसँग छलफल गरेको थियो । 

एन्फाले ३१ भदौमा अर्को बैठक राख्यो । एन्फाले सबै क्लबलाई पत्र पठाउँदै प्राविधिक कारण देखाएर बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी गरायो । सो बैठकमा पुसका लागि प्रस्ताव गरिएको ‘ए’ डिभिजन लिगबारे विस्तृत छलफल हुने तय थियो । देशका विभिन्न जिल्लामा १४ मैदान प्रयोग गरेर ‘होम एन्ड अवे’का आधारमा लिग आयोजना गर्ने प्रस्ताव एन्फाले अघि सारेको छ । फुटबलको मेरुदण्ड मानिने ‘ए’ डिभिजन लिग नभएको तीन वर्ष भइसकेको छ । एन्फा अध्यक्ष नेम्वाङको चारवर्षे कार्यकाल सकिन लाग्दा उनले एकपटक मात्र ‘ए’ डिभिजन लिग गराएका छन् ।

गत वर्ष मात्र उनले ‘बी’ डिभिजन लिगको साइकल पूरा गरेका थिए । जसबाट श्री भगवती तथा प्लानिङ ब्वाइज क्लब शीर्ष डिभिजनमा बढुवा भएका थिए । एन्फाले अन्तिमपटक ०७९ मा ‘ए’ डिभिजन लिग गरेको थियो । जसमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले लिग खेलेकै वर्ष उपाधि हात पार्यो । २६ असोजमा सातदोबाटोस्थित एन्फाको मुख्यालयमा हुने बैठकमा दुईवटा एजेन्डामाथि छफल हुनेछ । पहिलो ‘ए’ डिभिजन लिगसँगै यूथ–१६ लिगबारे पनि छलफल हुने एन्फाले १४ क्लबलाई पठाएको पत्रमा भनिएको छ । एन्फाले आगामी पुसमा गर्ने भनेको लिग विभिन्न १४ मैदानमा होन्ड एन्ड अवेको फम्र्याटमाथि एन्फाकै कार्यसमितिका केही पदाधिकारीले आपत्ति जनाएका छन् । न ।’ 

राष्ट्रिय महिला लिग भएन
एन्फाको क्यालेन्डरअनुसार राष्ट्रिय महिला लिग १ असोजबाट हुनुपर्ने थियो । तर, चार दिन बित्दा पनि एन्फाले राष्ट्रिय लिग आयोजना गरेको छैन । एन्फाले राष्ट्रिय महिला लिग आयोजना गर्न गत भदौमा छनोट प्रतियोगिता आयोजना गरेको थियो । छनोटबाट पाँच टोलीले राष्ट्रिय लिगमा स्थान बनाए । झापा एएफसी, चर्च ब्वाइज, आरएस रिसोर्ट एन्ड बिच, संकटा र न्युरोड टिम (एनआरटी)ले राष्ट्रिय लिगमा स्थान पक्का गरेका हुन् ।

यी छनोट भएका क्लबले राष्ट्रिय लिगमा नेपाल एपिएफ एफसी, नेपाल पुलिस, त्रिभुवन आर्मी एफसी, बागमती युवा र वालिङ नगरपालिकाको सामना गर्नेछन् ।  ९ पुसमा ‘ए’ लिग प्रस्ताव एन्फाले तीन वर्षपछि आयोजना गर्ने भनिएको ‘ए’ डिभिजन लिग आगामी ९ पुसमा गर्ने प्रारम्भिक प्रस्ताव राखेको छ । पछिल्लोपटक ०७९/८० को लिग ०८० जेठ २३ सकिएको थियो । चर्च ब्वाइज साढे दुई वर्षसम्म लिग च्याम्पियनकै रूपमा रहेको छ । लिग आयोजना गर्न नसक्दा एन्फाको चर्को आलोचना भइरहेको छ । ‘ए’ डिभिजन क्लबमा मनाङ मस्र्याङ्दी, संकटा, एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, चर्च ब्वाइज युनाइटेड, हिमालयन शेर्पा, फ्रेन्ड्स, मच्छिन्द्र, जावलाखेल युथ, एनआरटी, सातदोबाटो युथ, प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लब छन् । 

सुझावित समाचार