राष्ट्रिय च्याम्पियनको दाबी : बुद्धिस्ट र एसियन क्याडेट बुद्धिचालमा छनोट नै नगरी खेलाडी लगियो

राष्ट्रिय च्याम्पियन रूपेश जैसवाल तथा एमेच्योरका शीर्ष वरीयता खेलाडी पुरुषोत्तम चौलागाईंद्वारा नेपाल बुद्धिचाल महासंघले आफूखुसी खेलाडी लगेको आरोप

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण
राष्ट्रिय च्याम्पियनको दाबी : बुद्धिस्ट र एसियन क्याडेट बुद्धिचालमा छनोट नै नगरी खेलाडी लगियो

नेपाल बुद्धिचाल महासंघले गरेको खेलाडी छनोटको आपत्ति जनाउँदै राष्ट्रिय खेलाडी

च्याम्पियन रूपेश जैसवाल र पुरुषोत्तम चौलागाईंसहित अन्य राष्ट्रिय खेलाडीले रुसमा चलिरहेको बुद्धिस्ट चेस च्याम्पियनसिप र काजकिस्तानमा भइरहेको एसियन क्याडेट चेस च्याम्पियनसिपमा नेपाली खेलाडीको सहभागिताको प्रक्रियामाथि प्रश्न उठाएका छन् । दुईवटै अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपाल बुद्धिचाल महासंघले खेलाडी छनोट नगरी नै आफूखुसी खेलाडी लगेको जैसवाल र चौलागाईंले आरोप लगाएका छन् । 

च्याम्पियनसिपमा पुरुषोत्तम सिलवाल, एमेच्योर खेलाडी शैलेन्द्र न्यौपाने र महिलामा सिन्दिरा जोशीले प्रतिस्पर्धा गरिरहेका छन् । ‘संघका पदाधिकारीले बुद्धिस्ट तथा एसियन क्याडेट प्रतियोगितामा कुनै छनोट प्रतियोगिता नगरी खेलाडी लगेका छन्,’ उनीहरूको दाबी छ, ‘पदाधिकारीले खेलाडी छनोट कमिटी नबाउने र छनोटका आधार नहुनुका साथै अन्तिम समयमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने कुनै नौलो होइन ।’ रुस तथा काजकिस्तानमा नेपालबाट सहभागी भएका खेलाडी छनोटविना नै पुगेको आइतबार पत्रकार सम्मेलनमा जैसवाल र चौलागाईंले खुलासा गरेका छन् ।

यसअघि महासंघले नेपाल च्याम्पियन र अन्य योग्य खेलाडीलाई बाहिर राखेको र मापदण्डविना नै देशको प्रतिनिधित्व गराएको भन्दै आलोचना खेपेको थियो । नेपाल च्याम्पियनसहित खेलाडीले आइतबार महासंघले गरेको खेलाडी छनोट प्रक्रियामाथि खुलेरै विरोध जनाएका छन् । ‘रुसमा जारी प्रथम बुद्धिस्ट चेस च्याम्पियनसिपमा नेपालबाट सहभागी गराउँदा पनि विनाआधार खेलाडी चयन गरिएकोमा हाम्रो आपत्ति छ,’ पुरुष वरीयताको शीर्ष स्थानमा रहेका जैसवालले भने, ‘यसैगरी काजकिस्तानमा जारी एसियन क्याडेट चेस च्याम्पियनसिपमा पनि नेपाली खेलाडीको सहभागिताको छनोट प्रक्रिया प्रस्ट नहुनु दुःखद हो ।’ उनीहरूले सहभागी खेलाडीप्रति केही प्रतिक्रिया दिएनन् । 

यसैगरी, एमेच्योर च्याम्पियन चौलागाईंले पनि खेलाडी छनोटलाई लिएर असन्तुष्ट जनाएका छन् । ‘बुद्धिस्टमा कसरी खेलाडी छनोट भयो ? यसमा नेपाल र एमेच्योर च्याम्पियनलाई बाहिर राखिएको हो,’ चौलागाईंले भने, ‘महासंघले आफूनजिकका व्यक्तिसँग मात्र छलफल गरी खेलाडी लैजान मिल्छ ? किन राष्ट्रिय प्रतियोगिता गर्नु, सिधै नेपाल च्याम्पियन पनि आफैँ घोषणा गर्दा राम्रो हुनेछ ।’ । महासंघका अध्यक्ष हेराकाजी महर्जन नेपाली टोली लिएर हाल रुसमा र महासचिव धरम लामा काजकिस्तानमा छन् । 

छानबिनको माग 
राष्ट्रिय खेलाडीहरूले गत वर्ष हंगेरीमा भएको ४५औँ चेस ओलम्पियाडमा नेपाली खेलाडीको सहभागी हुने अवसर गुमाएकोमा छानबिन हुनुपर्ने माग राखेका छन् । महासंघले हंगेरीमा आयोजित ओलम्पियाडमा भिसा प्रक्रिया ढिला गरेका कारण नै आफूहरू प्रतियोगितामा सहभागी हुन नपाएको जैसवाल र चौलागाईंले गुनासो गरेका छन् । महासंघले हंगेरीमा नेपाली टोलीमा स्वीकृतिभन्दा पनि बढी संख्यामा पदाधिकारी लैजान कोसिस गरेपछि नेपालस्थित जर्मनी दूतावासले नेपाली टोलीलाई भिसा नदिएको हो । त्यसपछि महासंघका अध्यक्ष महर्जनले हंगेरीको भिसा लगाउन सबै खेलाडीलाई नयाँदिल्ली लगेका थिए । नयाँदिल्लीमा रहेको हंगेरी दूतावासले भिसा नदिएपछि बुद्धिचालका खेलाडी पहिलोपटक ओलम्पियाड खेल्न वञ्चित भए ।

‘महासंघले समयमै भिसा प्रक्रिया सुरु नगर्नु र राष्ट्रिय खेलकुद परिषद्बाट भिसा प्रक्रियाका लागि स्वीकृत नामभन्दा बढीको भिसा लिन प्रयास गर्नुलगायत कमजोरीका कारण भिसा पाएनौँ,’ उनीहरूले भने, ‘नेपाली खेलाडीले पहिलोपटक ओलम्पियाड सहभागिताको अवसर गुमायो, हामी यसको छानबिनको माग गर्छौँ ।’ उनीहरूले हंगेरीको घटनाले पनि महासंघ अयोग्य भएको जनाए । 

नयाँ कार्यसमिति गठनको माग
जैसवाल र चौलागाईंसहितका खेलाडीले महासंघमा आर्थिक अनियमितता भएको र बेथिति रहेको दाबी गरेका छन् । उनीहरूले महर्जनको नेतृत्वमा रहेको कार्यसमिति तत्कालै विघटन गरी नयाँ कार्यसमिति गठन गर्न माग राखेका छन् । साथै, अध्यक्ष र महासचिवसहित कोषाध्यक्ष ताराबहादुर रानाभाटसहितले महासंघ एकलौटी रूपमा चलाएको आरोप खेलाडीहरूले लगाएका छन् । ‘पहिलाजस्तै महासंघ सीमित व्यक्तिहरूबाट चलिरहेको छ । कहिले पनि विदेशबाट आउने रकमको पनि हिसाब सार्वजनिक भएको छैन,’ आक्रोशित खेलाडीहरूले भने, ‘शक्तिको दुरुपयोग गर्दै गरिएको मनोमानी निर्णय, आर्थिक अपारदर्शिता तथा खेलाडीमाथि गरिएको दुव्र्यवहार हाम्रो मूल विषय हो ।’ नेपालको प्रचलित कानुनअनुसार हरेक संस्थाले वार्षिक रूपमा आर्थिक प्रतिवेदन पास गर्नुपर्ने प्रावधान भए पनि महासंघमा प्रावधान नभएको जैसवालले बताए । 

खेलाडीको साथमा विभिन्न क्लब
नेपाल बुद्धिचाल महासंघले छनोटविना नै दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागिता गराएको सम्बन्धमा विभिन्न बुद्धिचाल क्लबहरूले विरोध जनाएका छन् । थापाथली पार्क चेस क्लब, अखिल नेपाल बुद्धिचाल महासंघ, अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजूलगायतले महासंघले विधि र प्रक्रिया मिच्दै खेलाडीमाथि अन्याय गरेको आरोप लगाएका छन् । थापाथलीका अध्यक्ष सानुराज बज्राचार्यले महासंघको कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट प्रक्रिया नहुनु, अपारदर्शी हुनु र अन्तिम समयमा नेतृत्वले आफूअनुकूल व्याख्या गरेर सहभागी गराउने प्रवित्तिले धेरै खेलाडी र समग्र बुद्धिचालकर्मीमाथि अन्याय भएको बताए । 

‘राष्ट्रिय च्याम्पियन रूपेशलाई अन्तिम समयमा बेवास्ता गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ, खेलाडीले उठाएको मुद्दामा हाम्रो समर्थन छ,’ शाक्यले भने, ‘दुई हजार रेटिङमुनिको एमेच्योर कोटामा राष्ट्रिय च्याम्पियन चौलागाईं र शीर्ष पाँचका आशिष फुयाँललाई बेवास्ता गरिएकोमा ध्यानाकर्षण भएको छ ।’ यसैगरी, अखिल नेपाल बुद्धिचालले दुई प्रमुख च्याम्पियनसिपमा खेलाडी छनोटमाथि प्रश्न उठाएको छ । 

‘महासंघको क्यालेन्डर नहुनु, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताबारे कार्यविधि नबनाउनु र आफूअनुकूल व्याख्या गरेर सहभागिता गराउने प्रवृत्तिले समग्र खेललाई नै असर परेको छ,’ अखिल नेपालका महासचिव अनिल शेर्पालीले भने । यसैगरी, हिमालयन चेस एकेडेमीले पनि खेलाडीको सहभागिताबारे आपत्ति जनाएको छ । 

सुझावित समाचार