३० भदौबाट सुरु भएको सहुलियत मूल्यको सुपथ पसलमा चहलपहल बढ्न थालेको छ । सुरुवातमा खासै व्यापार नभए पनि केही दिनदेखि उपभोक्ताको भिड बढ्दै गएको साल्ट ट्रेडिङका सूचना अधिकारी ब्रजेश झाले जानकारी दिए । साल्ट टे«डिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकासहित देशभरका एक सय ५३ स्थानमा सहुलियत पसल सञ्चालन गरेका छन् । दुवै संस्थानले मुख्य खाद्यान्नमा छुट दिएर बिक्री मूल्य निर्धारण गरेका छन् ।
खाद्य र साल्ट ट्रेडिङले सुपथ मूल्य पसलबाट बिक्री हुने चामल, दाल, गहुँ, चिनी र गेडागुडीमा पाँच रुपैयाँ तथा चिउरा, आँटा, पिठो, मैदा, खानेतेलमा सात रुपैयाँ प्रतिकिलो छुट दिएका छन् । खाद्य संस्थानसँग मात्र रहेको कर्णालीका रैथाने उत्पादनहरू जुम्ली मार्सी चामल, कागुनो, चिनो, सिमी, उवा र तितेफापरमा १० रुपैयाँ छुट दिइएको छ । जिरा, धनियाँ र चियापत्तीमा पनि प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । साल्ट ट्रेडिङका सूचना अधिकारी झाले दैनिक उपत्यकामा १८ लाखदेखि ३३ लाखसम्मको कारोबार भइरहेको जानकारी दिए । ‘उपत्यकामा १२ वटा काउन्टरमार्फत सेवा दिइरहेका छौँ ।
सामान्य अवस्थाको तुलनामा छुटसहितको सुपथ पसलबाट हुने कारोबार बढेको छ,’ उनले भने । खाद्य कम्पनीले यो वर्ष खसी, बोका र च्यांग्रा भने बिक्री गरेको छैन । कम्पनीले १५ सय खसी, बोका र तीन सय च्यांग्रा खरिदको प्रक्रिया अघि बढाइसकेको थियो, तर जेन–जी आन्दोलनका कारण उत्पन्न परिस्थितिले खसी, बोका र च्यांग्रा खरिद प्रक्रिया लम्बिएको र बिक्री गर्नसमेत मुस्किल हुने आकलन गरेको कम्पनीले जनाएको छ । गत वर्ष पनि संस्थाले दसैँका लागि ल्याएको खसी, बोका सबै बिक्री नभएर तिहारपछि सस्तो भाउमा लिलामी गरेको थियो । खाद्य कम्पनीले सुपथ पसलबाट सबैभन्दा बढी चामल बिक्री भइरहेको जनाएको छ । त्यस्तै, दाल, तेल, मैदा, चिनी, गेडागुडीलगायतको बिक्री पनि सामान्य अवस्थाको तुलनामा बढेको कम्पनीले जनाएको छ ।
डिडिसीले पनि थाल्यो छुटमा बिक्री
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले छुट मूल्यमा दुग्ध पदार्थ बिक्री थालेको छ । संस्थाको बजार विभाग प्रमुख नवीन शर्माका अनुसार एक लिटर घिउमा ७० रुपैयाँ छुट दिइएको छ । ‘प्रतिलिटर ११ सय ५० रुपैयाँ रहेको डिडिसी घिउ अहिले एक हजार ८० रुपैयाँमा बिक्री भइरहेको छ,’ उनले भने, ‘आधा किलो पनिरमा पनि २५ रुपैयाँ छुट दिइएको छ ।’ चार सय पाँच रुपैयाँ रहेको आधा किलो पनिर अहिले तीन सय ८० रुपैयाँमा बिक्री गरिरहेको उनले जानकारी दिए ।