लहान नगर क्षेत्रमा दलित विपन्न बस्तीका घरघरमा धारा पुर्‍याइँदै

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण

सिराहाको लहान नगरपालिकाअन्तर्गत विभिन्न वडाका दलित सुकुम्बासी तथा विपन्न परिवारको घरघरमा खानेपानीको धारा जडानका लागि आवश्यक कागजातसहित राजश्व बुझाइएको छ।

लहान नगरपालिका १, ७, १०, १७ र २४ वडा क्षेत्रका ५४ घरधुरी सुकुम्बासी दलित र एक घर अन्य गरी ५५ घरधुरीका लागि आइतबार नगर प्रमुख महेशप्रसाद चौधरीसहित वडाध्यक्षहरुले लहानस्थित नेपाल खानेपानी संस्थानलाई कागजातसहित राजश्व बुझाएका हुन्। संस्थान परिसरमा आइतबार आयोजित कार्यक्रममा नगर प्रमुख चौधरीले दशैं अगावै धारा जडान गरी स्वच्छ खानेपानी खुवाइने बताए। उनका अनुसार धारा जडानका लागि धरौटी राख्न नसक्ने ५४ घरधुरी दलित सुकुम्बासीहरुका लागि नगरको सहयोगवापत् दुई लाख ८८० रुपैयाँको चेक हस्तान्तरण गरिएको छ।

त्यसबाहेक द विकन परियोजनाअन्तर्गत लहानस्थित दलित जनकल्याण युवा क्लबले एक लाख ७७ हजार एक सय, १० नं. वडाले २६ हजार आठ सय र १७ नं. वडाले १० हजार पाँच सय रुपैयाँ गरी पाँच लाख ५५ हजार ८३० रुपैयाँ धारा जडानको धरौटीबापत उपलब्ध गराएको उनले बताए। परियोजनाअन्तर्गत सुकुम्बासीका लागि नगरपालिकाले प्रतिघर तीन हजार ७२०, सम्बन्धित ग्राहकले तीन हजार १७० र क्लवले धारा जडान गर्न आवश्यक सामाग्रीसहित तीन हजार २२० रुपैयाँ सहयोग रहेको क्लवका कार्यक्रम संयोजक राजेशकुमार लोहनीले बताए। उनका अनुसार परियोजनाअन्तर्गत  धारा जडान मात्र नगरी समुदाय र सामुदायिक विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता, स्वस्थ्यकर अभ्याससम्बन्धी सचेतनामूलक अभियानसमेत सञ्चालन गरिएको छ।

संस्थाका वितरण शाखा प्रमुख लट्टु यादवका अनुसार धारा जडान गर्न आफ्नै जग्गाको लालपुर्जा भएका परिवारका लागि ६ हजार ३९० रुपैयाँ र लालपुर्जा नभएका सुकुम्बासीका लागि १० हजार ११० रुपैयाँ पर्छ । नगरपालिका, क्लब र वडा कार्यालयहरुले सुकुम्बासीले तिर्नुपर्ने धरौटीपावतको रकम सहयोग गरिरहेको उनले बताए।

नगर क्षेत्रका विभिन्न वडाहरुमा विभिन्न निकायले निर्माण गरेर छोडेका ओभरहेड ट्याङ्कीसहितको संरचना संस्थानले आफ्नो स्वामित्वमा लिएपछि पाइपलाइन बिछ्याएर आगामी चैतको दोस्रो सातासम्म चार सय घरधुरीमा स्वच्छ खानेपानी पुर्याउने योजना रहेको संयोजक लोहनीले बताए। ‘त्यसमध्ये गत भदौको दोस्रो सातासम्म एक सय ८१ सुकुम्बासी दलितको घरमा धारा जडान भइसकेको छ’ उनले भने ‘दलित नभएपनि विपन्नता स्तरीकारणको आधारमा अति विपन्न १६० घरमा धारा जडान गर्छौं।’

इनार र हातेकल सुक्ने क्रम बढेपछि खानेपानीका लागि हरेक घरमा धारा आवश्यक भएको लहान २४ का वडाध्यक्ष रासलाल रायले बताए । संस्थानले खानेपानीको धारा वितरणमा तीब्रता दिएकोमा खुसी व्यक्त गर्दै उनले भने ‘इनारमा पालो कुर्ने, टाढाबाट पानी बोकेर ल्याउनुपर्ने झन्झट हटेको छ।’

सन् २०३० सम्म लहान नगरपालिका क्षेत्रमा बसोवास गरिरहेका २० हजार दलित सुकुम्बासीको घरघरमा धारा जडान गरी स्वच्छ पानी खुवाउने लक्ष्यसहित खानेपानीको काम भइरहेको वितरण शाखा प्रमुख यादवले सुनाए। ‘सन् २०१८ मा परियोजना कार्यान्वयन भएसँगै नगरको ११, १२, १५, १६, १८, १९ २०, २१, २२ र २३ नं. वडा क्षेत्रबाहेक छ हजार २२१ जना ग्राहक छन्’ उनले भने ‘केही महिनाभित्र १३, १४ र १६ नं. वडामा धारा जडान गर्नेगरी पाइपलाइनको काम हुँदै छ ।’

सुझावित समाचार