जेन–जी आन्दोलनमा मधेश प्रदेश प्रहरीलाई ११ करोडको क्षति

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा मधेश प्रहरीलाई ११ करोडबराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका आठवटै जिल्लाका भौतिक पुर्वाधार तथा सवारी साधनमा आगजनी र तोडफोड हुँदा ११ करोडको क्षति भएको हो ।

मधेश प्रदेश प्रहरीले उपलब्ध गराएको प्रारम्भिक रिर्पोटअनुसार भौतिक पूर्वाधारतर्फ आठ करोड र सवारीसाधनमा आगजनी तथा तोडफोडबाट तीन करोड गरी ११ करोडको क्षति भएको छ । 

२४ भदौमा भएको आन्दोलनमा प्रदेशभरका १०९ प्रहरी युनिट क्षतिग्रस्त भए । तीमध्ये १३  युनिट त पूर्ण रूपमा आगजनीले ध्वस्त भए । १३ वटा स्थायी, ९९ वटा अस्थायी प्रहरी चौकी र बाँकी जिल्ला ट्राफिक प्रहरीका कार्यालयहरूमा क्षति भएको मधेश प्रहरी कार्यालयले जनाएको छ । सबैभन्दा बढी क्षति ट्राफिक प्रहरीका अस्थायी युनिटहरूमा भएका छन् । 

मधेश प्रदेश प्रहरी कार्यालयले प्रदेशभरीका प्रहरी युनिटहरूमा भएको क्षति यकिन गर्न प्रहरी उपरीक्षक ईश्वर थापाको नेतृत्वमा क्षति यकिन समिति बनाएको छ । समितिले दिएको प्रतिवेदनमा ६ वटा प्रहरीका गाडी पूर्ण रुपमा जलेर खरानी भएका छन् भने १० वटामा तोडफोड भएको छ । त्यसैगरी, २५ वटा मोटरसाइकल जलेका छन् । मधेश प्रदेशमा ५३५ वटा प्रहरी युनिटमध्ये ३९९ मात्रै आफ्नो जग्गामा छन् । बाँकी भाडा घरमा छन् ।  

आन्दोलनकै क्रममा ८४ जना प्रहरी घाइते भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै, तीनवटा एसएलआर हतियार लुटिएको थियो । लुटिएको हतियारहरू बरामद भए पनि त्यसमा प्रयोग हुने ४५ राउण्ड गोली अझै हराइरहेको मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी उमाप्रसाद चतुर्वेदीले बताए । 

उनले भने, ‘यो आन्दोलनले प्रहरी मात्र होइन, सुरक्षाको आधारलाई नै ध्वस्त पारियो । धेरै क्षति भएको छ । अहिले प्रारम्भिक क्षति विवरण मात्रै संकलन भएको छ । विस्तृत विवरण आउन बाँकी नै छ ।’

मधेश प्रदेशमा पहिलादेखि नै प्रहरी चौकीहरूको भौतिक पूर्वाधार कमजोर थिए । त्यसमा जेन–जीको आन्दोलनको आगोले झन कमजोर बनाएको उनले दुखेसो गरे । ‘प्रहरी जनताकै सुरक्षाका लागि हुन्छ,’ डिआईजी चतुर्वेदीले भने, ‘तर आन्दोलनकै नाममा प्रहरी चौकी जलाइयो, प्रहरीलाई आक्रमण गरियो, कतिपय ठाउँमा ज्यानै लिइयो । यस्तो घटनाले प्रहरीलाई कमजोर मात्र बनाउँदैन, जनताकै सुरक्षामा संकट ल्याउँछ ।’

आन्दोलनको क्रममा विस्थापित १०९ प्रहरीचौकीमध्ये १०५ वटा पुनस्र्थापित भइसकेको र चारवटा अझै बाँकी रहेको छ । अहिले विभिन्न ठाउँमा प्रहरी चौकीहरू स्थानीयको सहयोगमा पुनस्र्थापित भइरहेको छ भने स्थानीयहरूले फुलमालाले प्रहरीहरूलाई स्वागत पनि गरिरहेका छन् ।
 

सुझावित समाचार