टिपटो र सिली स्पोर्टसबिच सम्झौता

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण

नेपालका प्रतिभावान युवा फुटबलरको अन्तर्राष्ट्रिय एक्सपोजर र अवसर दिने लक्ष्यसहित टिपटो स्पोर्टस् एकेडेमीले थाइल्यान्डको सिली स्पोर्टस् क्लबसँग सम्झौता गरेको छ।

शनिबार टिपटो स्पोर्टस एकेडेमीका अध्यक्ष गौरव बस्नेत र सिली स्पोर्टस क्लबका अध्यक्ष डाइसुके ताडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता एक वर्षको छ।

सम्झौताअनुसार सिली स्पोर्टसले टिपटोका सम्भावना भएका खेलाडीलाई सहयोग गर्न थाइल्यान्डमा तालिम शिविरहरू प्रदान गर्नेछ। त्यस्तै सिली स्पोर्टसले टिपटोलाई फुटबल, बिप्स, कोन, मार्करजस्ता सामाग्री पनि प्रदान गर्नेछ। यी सबै सामग्रीहरू सिली स्पोर्टसको थाइल्यान्डमा हुने एसियन च्याम्पियनसिपमा प्रस्तुति समारोहमार्फत टिपटोलाई हस्तान्तरण गर्ने बताइएको छ। एसियन च्याम्पियनसिपमा सिली स्पोर्टसले टिपटोको सहभागिताका लागि विशेष सहयोग गर्नेछ।

त्यस्तै, सिली स्पोर्टसले व्यावसायिक फुटबलमा लाग्न प्रेरित गर्ने उद्देश्यसहित खेलाडीलाई थाई लिगका शीर्ष, दोस्रो र तेस्रो डिभिजनमा ‘ट्रायल’ दिन सहयोग पनि गर्नेछ। सिली स्पोर्टसले यसका लागि ‘ट्रायल’ समयमा निः शुल्क आवास र खाना प्रदान गर्नुका साथै उपयुक्त प्रशिक्षण सुविधा, थाई क्लबसँगको सम्पर्कलगायतको विषयमा सहयोग गर्ने सम्झौता पत्रमा उल्लेख छ।

दुई पक्षबीचको समझदारीसँगै टिपटो स्पोर्टस हबको उद्घाटनका लागि जापानका पूर्वफुटबलर ताडा शुक्रबार मात्र नेपाल आइपुगेका हुन्। पूर्वगोलकिपर ताडाले जापानको यू–१५ देखि २३ सम्म राष्ट्रिय टोलीको को प्रतिनिधत्व गरेका छन्। यसैगरी उनले जापानी टोलीबाट ओलम्पिकमा पनि सहभागिता जनाइसकेका छन्।

सुझावित समाचार