नेपाली महिला टिमले मलेसियामा पाँच खेल खेल्ने

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण
  • आगामी जनवरीमा घरेलु मैदानमै हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोटअघि नेपाली टोलीले मलेसिया भ्रमण गर्न लागेको हो 

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग पाँच टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । मलेसियाको क्वालालम्पुरमा शृंखला २ देखि ८ अक्टोबरसम्म हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । यो खेलका लागि अनुभवी अलराउन्डर सीता रानामगरले कमब्याक गरेकी छिन् । यो खेलको मिति तय भए पनि तालिका भने सार्वजनिक भएको छैन । 

यसअघि टी–२० महिला विश्वकप एसिया छनोट खेलेका टिमबाट पाँच परिवर्तन गरिएको छ । त्यसअघि नेपालले नेपाली खेलाडीले मलेसियामै हुने मलेसियन सुपर वुमन सिरिज खेल्नेछन् । यो खेल २४ देखि ३० सेप्टेम्बरसम्म हुनेछ । उक्त प्रतियोगितामा नेपालका १४ खेलाडी फरक–फरक पाँच टोलीबाट खेल्नेछन् । 

नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमै हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । त्यसको तयारीका लागि क्यानले यी दुई कार्यक्रमहरू राखेको हो । 

नेपाली खेलाडी मलेसियाका पाँच टिममा 
मलेसियासँग पाँच शृंखला खेल्नुअघि नेपाली खेलाडीले मलेसियामै हुने मलेसियन सुपर वुमन सिरिज खेल्नेछन् । यसमा नेपाली १४ मध्ये १२ खेलाडीले फरक पाँच क्लबबाट खेल्ने पक्का भएको छ । रुबिना क्षेत्री र कविता कुँवरको भने टुंगो लाग्न बाँकी छ । सेन्ट्रल सुपर गल्र्समा नेपालका यशोदा विष्ट, राजमती ऐरी, सीता रानामगर र रिया शर्माले खेल्ने भएका छन् । इस्टर्न लायनेसमा कविता जोशी र सम्झना खड्का आबद्ध भएका छन् । यस्तै, रुबी पोद्दारले नर्थन क्विन्सबाट खेल्दा नेपाल यू–१९ टिमकी कप्तानसमेत रहेकी पूजा महतो र सोमु विष्टले साउथर्न जागुअर्सबाट खेल्ने पक्का भएको छ । यस्तै, अर्काे टोली वेस्टर्न वन्डर वुमनले कप्तान इन्दु बर्मासहित सावित्री धामी र रचना चौधरीलाई मौका दिएको छ । 

चार महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्दै
नेपाली महिला टिमले चार महिनापछि अन्तर्राष्ट्रिय सहभागिता जनाउँदै छ । नेपालले गत मेमा थाइल्यान्डको बैंककमा आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्रीय छनोट खेलेको थियो । जहाँ नेपाल सुपर थ्रीमा पराजित भयो । निर्णायक खेलमा भने घरेलु टोली थाइल्यान्डसँग ७८ रनले पराजित भएको थियो । थाइल्यान्डले दिएको १५८ रनको लक्ष्य नेपालले पूरा गर्न सकेन । नेपालले २० ओभरमा नौ विकेट गुमाउँदा मात्र ८० रन बनाएको थियो । 

त्यसअघि नेपालले युएईलाई पाँच विकेट, बहराइनलाई ६ विकेट, हङकङलाई सात विकेट, बहराइनलाई नै नौ विकेटले हराएको थियो । त्यसअघि नेपाली टिमले युगान्डामा सिरिज खेलेको थियो ।

सीतासहित पाँच खेलाडीलाई मौका
क्यानले मलेसिया जाने टोलीमा पाँच खेलाडीलाई मौका दिएको छ । इन्दु बर्माको कप्तानीमा रहेको १४ सदस्यीय टोलीमा सीताले कमब्याक गरेकी छिन् । सीतासहित सोमु विष्ट, रचना चौधरी, यशोदा विष्ट र सावित्री धामी टिममा परेका छन् । यसअघि टी–२० महिला विश्वकप एसिया छनोट खेलेका टिमबाट ईश्वरी विष्ट, सबनम राई, विन्दु रावल, रोमा थापा र मनीषा उपाध्याय बाहिरिएका छन् । टोलीमा कप्तान इन्दु, पूजा महतो, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विस्ट, सावित्री धामी, कविता कुँवर, पूर्वकप्तान रुबिना क्षेत्री र सीता छन् । नेपाली टिममा यशोदा विष्ट र सावित्री धामीले पहिलोपटक स्थान बनाएका हुन् । २५ वर्षीय यशोदाले घरेलु क्रिकेटमा बागमती प्रदेशबाट खेल्दै आएकी छिन् । त्यस्तै, १७ वर्षीया सावित्रीले नेपालको यू–१९ टोलीबाट विश्वकप खेलिसकेको अनुभव छ । घरेलु क्रिकेटमा उनले सुदूरपश्चिम प्रदेशबाट खेल्ने गरेकी छिन् । 

सुझावित समाचार