२३ भदौको जेन–जी आन्दोलनमा केपी ओली नेतृत्वको सरकारको बर्बर दमनमा १९ निहत्था युवा मारिएपछि आक्रोशित प्रदर्शनकारीले २४ भदौमा सार्वजनिक सम्पत्ति मात्रै होइन, नेताका घर नै ध्वस्त बनाएपछि उनीहरूको सुरक्षामै चुनौती निम्तियो । त्यस दिन ओलीले के-के गरे, सेनाले कसरी उद्धार गर्यो ? नयाँ पत्रिकाले तयार पारेको रिपोर्ट :
केपी ओलीका साढे पाँच घण्टा
बिहान ९:०० बजे : पार्टीको कोर टिमसँग बैठक
२३ भदौमा १९ युवाको ज्यान गएपछि २४ भदौको बिहानैदेखि आन्दोलन चर्कियो । तर, सकेसम्म आन्दोलन मत्थर पार्ने रणनीति तय गर्न प्रधानमन्त्री केपी ओलीले ९ बजे पार्टी उपाध्यक्षसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र राजनीतिक सल्लाहकार विष्णु रिमालसँग छलफल गरे । पौडेलले आन्दोलन नियन्त्रणबाहिर जाँदै गरेको संकेत गर्दै विभिन्न विकल्पबाट सोच्नुपर्ने सुझाव राख्न थालेका थिए । तर, पोखरेल, ज्ञवाली र रिमालले प्रतिवाद गरे । प्रधानमन्त्री ओलीले पनि सुनेको नसुनेझैं गरे ।
बिहान ९:४५ बजे : देउवासँग टेलिफोन संवाद
एमाले नेताहरू बालुवाटारमा छँदै ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले फोन गरेका थिए । बुढानीलकण्ठ निवास प्रदर्शनकारीले घेरेकाले थप सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । तर, त्यतिवेलासम्म पनि ओलीले जटिल परिस्थितिलाई नजरअन्दाज गरिरहेका थिए ।
बिहान १०:०० बजे : सुरक्षा प्रमुखहरूको सुझावमा पनि ओलीको बेवास्ता
देउवाको फोनपछि ओलीले चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरे । छलफलमा ओलीले भनेका थिए, ‘शेरबहादुरजीले फोन गर्नुभएको थियो, बाहिर (निवासबाहिर) मान्छे भेला भएर प्रदर्शन गरिरहेका रहेछन्, त्यहाँ सुरक्षाकर्मी पठाइदिनुपर्यो ।’ मुख्यसचिव एकनारायण अर्याल र चार सुरक्षा प्रमुख त्यसअघि नै गृह मन्त्रालयमा बैठक बसेर प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुगेका थिए । उनीहरूले पनि परिस्थिति असामान्य बन्दै गएकाले राजनीतिक निकासका लागि सुझाव दिए । तर, ओली उल्टै झोक्किए । ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरू परिभाषित जिम्मेवारी पूरा गर्नुस्, राष्ट्रलाई निकास दिने मेरो अभिभारा म पूरा गर्छु । त्यसो गर्यो भने स्थिति ठिक हुन्छ ।’ राजीनामा दिएर निकास दिन प्रधानसेनापतिले आग्रह गरेपछि ओली थप आक्रोशित बनेका थिए । उनीहरूबिचको संवाद नै असहज बनेको थियो । पछि अर्थमन्त्री पौडेल र ओलीका राजनीतिक सल्लाहकार रिमाललगायतले पनि सिग्देलसँग अलग्लै छलफल गरेका थिए ।
मध्यान्ह १२:०० बजे : सर्वदलीय बैठक आह्वान
दिउँसोसम्म अपूरणीय क्षति मात्रै भएको थिएन, समय पनि धेरै घर्किसकेको थियो । ओलीले भने बल्ल छलफलका लागि सर्वदलीय बैठक आह्वान गरे । मानवीय र भौतिक क्षतिप्रति दु:ख व्यक्त गर्दै वार्ता र छलफलका माध्यमबाट आन्दोलनका माग सम्बोधनबारे छलफल गर्न साँझ ६ बजे बैठक बोलाएका थिए । तर, यो बैठक नै हुन पाएन, ओली बहिर्गमन भए ।
दिउँसो ०१:०० बजे : ओलीको राजीनामा ड्राफ्ट तयार
प्रधानसेनापतिसहितका सुरक्षा प्रमुखहरूले निकास दिन पटक–पटक आग्रह गर्दा पनि ओलीले बेवास्ता गरिरहे । जब प्रदर्शनकारीले संसद् भवन, सिंहदरबार, मन्त्रीनिवासदेखि शीर्ष नेतासहितका निवासमा आगजनी र तोडफोड गरेको तथा आन्दोलन नियन्त्रणबाहिर गएको प्रत्यक्ष थाहा पाए । अनि बल्ल दिउँसो १ बजे राजीनामा दिन तयार भए । त्यो पनि अर्थमन्त्री पौडेल र प्रधानसेनापति सिग्देलले बल्लतल्ल मनाउनुपर्यो । सिग्देलले त राजीनामा नदिने हो भने झन् विध्वंस हुने र सेनाले पनि सुरक्षा दिन नसक्ने स्थिति आउन सक्ने चेतावनी नै दिए । त्यसपछि पौडेलले ओलीलाई ‘कन्भिन्स’ गराए । मुख्यसचिव अर्याललगायतले राजीनामाको ड्राफ्ट तयार पारेका थिए ।
दिउँसो ०२:०० बजे : अनि बल्ल गरे ओलीले राजीनामापत्रमा हस्ताक्षर
यतिवेलासम्म पनि ओली राजीनामापत्रमा हस्ताक्षर नगर्ने मनस्थितिमै थिए । तर, आन्दोलनकारीले बालुवाटारसमेत घेर्न थालिसकेका थिए । उनी राजीनामा नदिएरै बालुवाटारबाट सुरक्षित स्थानतिर जाने तयारीमा थिए । तर, सेनाले राजीनामा नदिई उनलाई रेस्क्यु गर्न मानेन । अनि बल्ल २ बजेतिर ओलीले राजीनामापत्रमा हस्ताक्षर गरे । राजीनामापत्र सेनामार्फत राष्ट्रपतिलाई बुझाए । लगत्तै उनको राजीनामा स्वीकृत भएपछि मुख्यसचिव र प्रधानसेनापतिसहितका सुरक्षा प्रमुखहरू हेलिकोप्टरबाट सैनिक मुख्यालय गए ।
दिउँसो ०२:३० बजे : सैनिक हेलिकोप्टरबाट ओलीलाई जोगाएर लगियो शिवपुरितिर
राजीनामालगत्तै ओली, उनकी पत्नी राधिका शाक्य र राजनीतिक सल्लाहकार विष्णु रिमाललाई सेनाले हेलिकोप्टरमा शिवपुरीस्थित स्टाफ कलेजको ब्यारेकमा पुर्यायो । बालुवाटारमै रहेका उपप्रधानमन्त्री पौडेल, महासचिव पोखरेल र उपमहासचिव ज्ञवालीलाई भने माथिको आदेश भन्दै त्यहीँ छाडिदियो । उनीहरू प्रहरीको सहयोगमा प्रहरी प्रधान कार्यालय पुगेर सुरक्षित भएका थिए ।