एसियाली महारथी देश जापानका पूर्वराष्ट्रिय फुटबल खेलाडी ताडा नेपालमा आएका छन् । स्पोर्ट हबको उद्घाटन गर्न उनी नेपाल आएका हुन् । एकेडेमीको उद्घाटन सोमबार हुनेछ । ताडालाई टिपटो स्पोर्टस् एकेडेमीका सिइओ सुवास न्यौपाने र अध्यक्ष गौरव बस्नेतले स्वागत गरेका थिए ।
सोही अवसरमा ताडाले टिपटो स्पोर्टस् एकेडेमीसँगको सहकार्यका लागि सम्झौता गर्नेछन् । ताडाले हाल थाइल्यान्डमा सिली स्पोर्टस् क्लब सञ्चालन गरिरहेका छन् । गोलकिपर ताडाले जापानको यू–१५ देखि २३ सम्मको राष्ट्रिय टिमको प्रतिनिधत्व गरेका छन् । यसैगरी, उनले जापानी टोलीबाट ओलम्पिकमा पनि सहभागिता जनाइसकेका छन् ।
उनको भ्रमणले नेपाल र अन्तर्राष्ट्रिय एकेडेमीबिच खेलकुद कूटनीतिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको छ । नेपाल र अन्तर्राष्ट्रिय एकेडेमीबिच खेलाडी, प्रशिक्षक शिक्षा कार्यक्रममार्फत आधुनिक प्रशिक्षण विधि आदान–प्रदान गर्ने सम्झौता हुनेछ ।
सम्झौतामा एकेडेमी खेलाडीका लागि फुटबल क्लिनिक सञ्चालन, एकेडेमिका लागि खेल सामग्री तथा आवश्यक सहयोग प्रदान, हरेक वर्ष थाइल्यान्डमा हुने एसियन च्याम्पियनसिपमा सहभागी हुने अवसर लगायतका बुँदा समावेश हुनेछन् ।
उनले नेपाल बसाइको क्रममा टिपटो स्पोर्टस् एकेडेमी हब अवलोकन गर्ने, प्रशिक्षण सत्र हेर्ने र खेलाडी तथा प्रशिक्षकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम छ । ताडाको आगमनसँगै टिपटपले अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्ने, नेपाली युवा खेलाडीलाई थप अवसर दिलाउने तथा ग्रासरुट फुटबललाई बलियो बनाउने अपेक्षा राखेको छ ।